कक्षा १२ को नतिजामाथि उठेका प्रश्न छानबिन गर्न समिति गठन, शिक्षामन्त्री पोखरेलको स्पष्टोक्ति

कक्षा १२ को नतिजा प्रक्रियामाथि प्रश्न उठेपछि सरकारले उत्तरपुस्तिकाको नमुना परीक्षण (स्याम्पलिङ) तथा परीक्षाङ्क र डेटा इन्ट्रीको पुनः प्रमाणीकरणका लागि समिति गठन गरेको छ।
शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे सामाजिक सञ्जालमा भइरहेका टिप्पणी र विद्यार्थीमाथि लक्षित नकारात्मक प्रतिक्रियाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छन्।
उनका अनुसार गठन गरिएको समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवसहित सम्बन्धित निकायका प्रतिनिधिहरू रहनेछन्। समितिले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, प्राप्ताङ्क र डेटा इन्ट्री प्रक्रियाको भेरिफिकेसन गर्नेछ।
मन्त्री पोखरेलले परीक्षा बोर्डको नतिजा प्रणाली स्पष्ट र विश्वसनीय रहेको दाबी गर्दै आवश्यक जनशक्ति व्यवस्थापन गरेर तथा प्रशासनिक प्रक्रियालाई सहज बनाउँदै निर्धारित समयमै नतिजा सार्वजनिक गरिएको बताए। उनले नतिजा प्रकाशनमा कुनै हतार नगरिएको र नियमित प्रक्रियाअनुसार नै काम भएको स्पष्ट पारे।
यसैबीच, शान्तिपूर्ण रूपमा असन्तुष्टि जनाइरहेका विद्यार्थी वा समूहप्रति सामाजिक सञ्जालमा गालीगलौज, दुर्व्यवहार वा अपमानजनक अभिव्यक्ति नदिन पनि उनले आग्रह गरेका छन्।
लोकप्रिय खबर
लोड हुँदैछ...



