प्रतिनिधिसभाको क्यालेन्डरमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गायब

संघीय संसद अन्र्तगतको प्रतिनिधिसभाले आगामी असार १५ गतेसम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ ।
सार्वजनिक क्यालेन्डरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम परेको छैन । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने उल्लेख छ ।
तर,यस्तो प्रावधान आगामी असार १५ गते सम्मको संसदीय क्यालेन्डरमा परेको छैन । प्रतिनिधिसभा नियमावली अनुसार जेठ महिनामा एउटा र असार महिनामा अर्को गरी दुई पटक प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने हो । तर, दुवै महिनामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने विषय संसदीय क्यालेन्डरमा उल्लेख छैन् । बजेटसँग सम्बन्धित विषयमा बढी छलफल हुने भएकाले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संसदीय क्यालेन्डरमा नपरेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीको दाबी छ ।
संसदीय क्यालेन्डर अनुसार जेठ ४ गतेबाट प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुनेछ । १५ गते आर्थिक बर्ष २०८३÷०८४ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल हुनेछ । जेठ १८ गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ । यसैबीच,संघीय संसद्का दुवै सदनमा पेस भएको ८ अध्यादेशहरू स्वीकृति अनिश्चित बनेको छ । प्रतिनिधिसभाले आगामी असार १५ गतेसम्मका लागि ल्याएको संसदीय क्यालेन्डरमा अध्यादेश स्वीकृत गर्ने विषय परेको छैन ।
सरकारले चाहँदा यस्तो प्रस्ताव अगाडि बढाउन सक्छ र त्यसअनुसार सभामुखले संसद्को कार्यसूची हेरफेर गर्न सक्दछन् । तर,संसदीय क्यालेन्डरमा भने अध्यादेश स्वीकृत गर्ने विषय परेको छैन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...

