Global TV Logo
लोड हुँदैछ...

रसुवामा तिब्बततर्फबाट आएको भीषण बाढीले वितण्डा, १६ प्रहरी सम्पर्कविहीन; त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

S
Sristi Thakuri
२०२६-०८-२६, ०६:३२ AM
होमपेज/विशेष समाचार
रसुवामा तिब्बततर्फबाट आएको भीषण बाढीले वितण्डा, १६ प्रहरी सम्पर्कविहीन; त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं , भदौ १० - चीनको तिब्बत तर्फबाट बुधबार बिहान अचानक आएको भिषण बाढीले रसुवाको भोटेकोशी नदी तटीय क्षेत्रमा ठूलो विनाश मच्चाएको छ । बिहान करिब सवा ९ बजे आएको बाढीले बस्ती, बजार, जलविद्युत् आयोजना तथा सुरक्षा निकायका संरचनामा क्षति पु¥याएको प्रारम्भिक विवरण प्राप्त भएको छ । सञ्चार सम्पर्क अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण भने आउन सकेको छैन । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी अत्यन्तै ठूलो र अप्रत्याशित थियो ।  उनका अनुसार गत वर्षको बाढीको तुलनामा यसपटकको बाढी कम्तीमा १० गुणा ठूलो रहेको प्रारम्भिक अनुमान छ।  

सुरक्षा निकायमै सम्पर्कविहीन

बाढीको सबैभन्दा गम्भीर असरमध्ये सुरक्षा निकायसँगको सम्पर्क विच्छेद हुनु पनि हो ।  प्रभावित क्षेत्रमा खटिएका २१ प्रहरीमध्ये १६ जना अझै सम्पर्कविहीन छन्। टिमुरेबाट भने पाँच जना प्रहरी सम्पर्कमा आएको नेपाल प्रहुरीले बताएको छ । स्याफ्रुबेँसीमा कार्यरत नौ प्रहरीसहित रसुवागढी र मैलुङ क्षेत्रमा खटिएका प्रहरीसँग समेत सम्पर्क हुन सकेको छैन। प्रहरी कार्यालय बगेका हुन् वा त्यहाँ कार्यरत प्रहरीसमेत प्रभावित भएका हुन् भन्ने यकिन हुन बाँकी छ । बाढीले क्षति पु¥याएको प्रारम्भिक विवरण छ ।

बस्ती र जलविद्युत् आयोजनामा ठूलो क्षति

बाढीले स्याफ्रुबेँसी सहित भोटेकोशी किनारका बस्तीमा पानी पसेको छ । दर्जनौं बस्ती तथा बजार प्रभावित भएको प्रारम्भिक सूचना आएको छ । तल्लो तटीय क्षेत्रमा रहेका जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुगेको आशंका गरिएको छ। केही आयोजना तथा संरचना बाढीले बगाएको सूचना आए पनि यकिन विवरण संकलन हुन सकेको छैन ।  स्थानीय प्रशासनका अनुसार बाढीबाट जनधनको ठूलो क्षति भएको प्रारम्भिक अनुमान छ । 

त्रिशूली हुँदै चितवनसम्म जोखिम

भोटेकोशीमा आएको बाढीको असर तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भन्दै बाढी पूर्वानुमान शाखाले रसुवा देखि नुवाकोट, धादिङ, गोरखा हुँदै चितवनसम्मका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।  त्रिशूली नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनारका बस्तीमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छ। बाढीको प्रभाव मुग्लिङसम्म पुग्न सक्ने भन्दै त्रिशूली नदीसँग जोडिएका सबै तटीय क्षेत्रलाई उच्च जोखिममा राखिएको छ । पृथ्वी राजमार्गसहित प्रभावित क्षेत्रका करिडोर सडक बन्द गरी आवागमन रोक्नसमेत सरकारलाई आग्रह गरिएको छ ।

चार जिल्लातर्फको यातायात रोकियो

बाढी र पहिरोको जोखिम बढेपछि ट्राफिक प्रहरीले काठमाडौंमै सवारीसाधन रोकेको  छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनतर्फ जाने सवारीसाधनलाई तत्कालका लागि काठमाडौंमै रोकिएको छ। यसले सम्भावित मानवीय क्षति न्यूनीकरण तथा उद्धार कार्यलाई सहज बनाउने उद्देश्य रहेको जनाइएको छ ।

उद्धारका लागि सुरक्षा संयन्त्र परिचालन

सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरेको छ। विपद् व्यवस्थापन प्राधिकरणलाई समेत सक्रिय बनाइएको छ । तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ। सम्भावित उद्धार तथा राहतका लागि हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राखिएको छ । गृह तथा पर्यटन मन्त्रालयले उद्धारका लागि दुईवटा हेलिकप्टर पठाउने तयारी गरेको छ ।

सञ्चार अवरुद्ध, यकिन विवरण आउन बाँकी

बाढीपछि टिमुरे क्षेत्रसहित उत्तरी रसुवामा सञ्चार सम्पर्क कठिन बनेको छ।  यही कारण प्रभावित क्षेत्रको वास्तविक अवस्था र जनधनको क्षतिको यकिन विवरण तत्काल प्राप्त हुन सकेको छैन । सुरक्षा निकाय र स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा सम्पर्क स्थापित गर्ने तथा उद्धार र क्षतिको विवरण संकलन गर्ने प्रयास गरिरहेका छन् । भोटेकोशीमा आएको यो बाढी सामान्य बाढीभन्दा निकै ठूलो र विनाशकारी देखिएको छ। रसुवामा भएको प्रारम्भिक क्षतिको पूर्ण तस्वीर अझै बाहिर आउन बाँकी रहेकाले त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत जोखिम उच्च रहेको छ। प्रशासनले नदी किनारमा नजान, सुरक्षित स्थानमा बस्न र आधिकारिक सूचनामात्र पछ्याउन आग्रह गरेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com