राहदानी सेवा दुई दिन बन्द, तयार राहदानी भने वितरण हुने

काठमाडौं, साउन २५ — राहदानी विभाग ले राहदानी सेवालाई नयाँ प्रणाली (माइग्रेसन) मा रूपान्तरण गर्ने क्रममा दुई दिनका लागि राहदानीसम्बन्धी सेवा स्थगित गरेको छ।
विभागले जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानीसम्बन्धी नियमित सेवा उपलब्ध नहुनेछ। यसअघि विभागले असार १९ गते नै सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण दुई दिन सेवा अवरुद्ध हुने जानकारी दिएको थियो।
यद्यपि, सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानीको वितरण भने नियमित रूपमा जारी रहनेछ। मोबाइलमा राहदानी सङ्कलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी लिन सक्ने विभागले जनाएको छ।
विभागका अनुसार नयाँ प्रणाली लागू भएपछि राहदानी सेवालाई अझ प्रभावकारी, सुरक्षित र छिटो बनाउने लक्ष्य राखिएको छ। सेवाग्राहीलाई प्रणाली रूपान्तरण अवधिभर पर्न सक्ने असुविधाप्रति विभागले क्षमायाचना गर्दै सेवा पुनः सञ्चालन भएपछि नियमित रूपमा सेवा प्रवाह गरिने जनाएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...

