सौराहा हात्ती प्रजनन केन्द्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन मन्त्री चौधरीको जोड

काठमाडौ,असार २८ — कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रलाई थप व्यवस्थित गरी उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन्।
केन्द्रको निरीक्षणपछि मन्त्री चौधरीले वार्षिक करिब दुई लाख पर्यटकले केन्द्रको भ्रमण गर्ने भएकाले पर्यटकमैत्री पूर्वाधार र व्यवस्थापनलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताइन्। केन्द्रलाई अझ आकर्षक र व्यवस्थित बनाउन मन्त्रालयबाट आवश्यक सहयोग उपलब्ध गराइने उनले प्रतिबद्धता व्यक्त गरिन्।
निरीक्षणका क्रममा मन्त्री चौधरीले केन्द्रमा कार्यरत कर्मचारीका सेवासुविधा, स्थायी नियुक्तिसम्बन्धी समस्या तथा व्यवस्थापनका विषयमा जानकारी लिएकी थिइन्। उनले प्रजनन केन्द्र र निकुञ्ज क्षेत्रमा रहेका हात्तीको पालनपोषण, संरक्षण तथा व्यवस्थापनमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिइन्।
हाल सौराहा हात्ती प्रजनन तथा तालिम केन्द्रमा नौ वटा ढोई र सात वटा छावा रहेका छन्। यहाँ हुर्काइएका छावालाई तालिम दिएर विभिन्न संरक्षण तथा व्यवस्थापनसम्बन्धी कार्यमा परिचालन गरिने गरिएको छ। निकुञ्जमा एउटा हात्तीको स्याहार–सुसारका लागि तीन जनाको दरबन्दी रहेको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



