संविधान संशोधनमा प्राथमिकता तोकेर अघि बढ्नुपर्छ : कांग्रेस सभापति गगन थापा

काठमाडौं, साउन २५ — नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन गर्दा प्राथमिकता निर्धारण गरेर मात्रै अघि बढ्नुपर्ने बताएका छन्।
बिहीबार आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले संविधानका सबै विषय एकैपटक संशोधन गर्ने प्रयासले देशलाई पुनः अस्थिरतातर्फ धकेल्न सक्ने चेतावनी दिए।
“एकैपटक सबै विषयमा संविधान संशोधन गरौं भन्ने कुराले आठौं वर्ष, १० औं वर्ष लगाएर बल्ल सम्हालेका यी कुराहरूबाट फेरि एक पटक नेपाल ठूलो आगोको भुंग्रोमा पर्नसक्दछ भन्ने नेपाली कांग्रेस पार्टीको चिन्ता हो,” उनले भने।
सभापति थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसका लागि विषयगत प्राथमिकता, राष्ट्रिय सहमति र दीर्घकालीन प्रभावलाई ध्यान दिनुपर्ने बताए।
उनले संविधान निर्माणका क्रममा भारतका संविधान निर्माता भीमराव अम्बेडकरले दिएको ‘ग्रामर अफ एनार्की’ (अराजकताको व्याकरण) सम्बन्धी धारणासमेत स्मरण गर्दै संविधान र लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने खालका कदमबाट सचेत रहनुपर्ने धारणा राखे।
लोकप्रिय खबर
लोड हुँदैछ...


