कांग्रेसको १५ औं महाधिवेशन : मतगणना तीव्र पार्न सानेपामा २३ स्थानमा एकसाथ गणना सुरु

काठमाडौँ ,असोज २७ - नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्र्तगत नयाँकार्यसमिति चयनका लागि भएको मतदानको मतगणना निकै सुस्त देखिएको छ ।
महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको मतगणना कार्यमा ढिलाई भएपछि केन्द्रीय कार्यालय सानेपामा एकसाथ २३ स्थानमा मत गणना सुरु गरिएको हो । सभापतिसहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिएपछि निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको गणना तीव्र पारेको दाबी गरेको छ । धेरै पद र उम्मेदवारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले पद र क्लस्टरअनुसार छुट्टाछुट्टै टोली बनाएर गणना अघि बढाइएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जसअनुसार खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना ५ स्थानमा भइरहेको छ । प्रवासस्थित नेपाली जनसम्पर्क समितिको मतगणनाका लागि सबैभन्दा धेरै ९ स्थानमा टोली परिचालन गरिएको छ । यस्तै, आदिवासी जनजाति सहमहामन्त्री, आदिवासी जनजाति खुला केन्द्रीय सदस्य र आदिवासी जनजाति महिला सदस्यतर्फको गणना ३ स्थानमा भइरहेको छ । सुदूरपश्चिम प्रदेशतर्फको खुला केन्द्रीय सदस्य, महिला र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना ४ स्थानमा जारी छ भने पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र खुला महिला केन्द्रीय सदस्यको गणना २ स्थानमा भइरहेको छ । उम्मेदवार तथा तिनका आधिकारिक प्रतिनिधिको उपस्थितिमा कडा सुरक्षाका साथ शान्तिपूर्ण रूपमा मतगणना जारी राखिएको छ । भोली बुधबारसम्म सबै पदको अन्तिम नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको निर्वाचन समितिले जनाएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



