दरबार हत्याकाण्डको २५ वर्ष : अझै रहस्यमै नारायणहिटीको त्यो रात

नारायणहिटी दरबारमा हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ ।
२०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो । शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो । घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो । यस्तै,राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा र कुमार खड्गविक्रम पनि मारिएका थिए । हत्याकाण्डपछि सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । समितिका सदस्य तत्कालीन सभामुख तारानाथ रानाभाटले युवराज दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरी अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेका थिए । तर,प्रतिवेदनलाई अधिकांश नेपालीले विश्वास गर्न सकेका छैनन् । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सकेनन् । २०६२÷०६३ को जनआन्दोलनमार्फत पुनःस्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोस्यो । २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्रको अन्त्य भयो । दरबार हत्याकाण्डपछि नारायणहिटी राजदरबारलाई संग्राहलयमा परिणत गरिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



