Global TV Logo
लोड हुँदैछ...

डोजर चलाउँदा भेटियो सर्प, स्थानीयमा चर्चा– शुभ कि अशुभ संकेत?

S
Sristi Thakuri
२०२६-०९-०४, १२:५३ PM
होमपेज/समाचार
डोजर चलाउँदा भेटियो सर्प, स्थानीयमा चर्चा– शुभ कि अशुभ संकेत?

काठमाडौं , भदौ  १९ - कृष्णभीर क्षेत्रमा गत केही दिनदेखि सडक विभाग, सुरक्षाकर्मी र स्थानीय तहको समन्वयमा डाइभर्सन बनाउने काम तिब्ररुपमा अघि बढेको छ । शुक्रबार बिहान डोजरले ठूलो ढिस्को हटाउनेक्रममा माटोभित्रबाट अजंगको सर्प निस्किएपछि डोजर चालकले तत्काल काम रोकेका थिए । स्थानीयवासीका अनुसार सर्प देखिएको खबर फैलिनासाथ आसपासका गाउँका मानिसहरू समेत हेर्न पुगेका थिए । कतिपयले सर्पलाई नागदेवताको प्रतीक मान्दै सडक निर्माण वा पहिरो हटाउने कार्यअघि पूजा गर्नुपर्ने धारणा व्यक्त गरेका थिए भने केही वृद्धवृद्धाले प्राकृतिक विपत्तिपछि यस्ता घटना देखिनुलाई विशेष संकेतका रूपमा हेर्ने गरिएको बताएका थिए । पुर्खाले सर्पलाई नागदेवताको रूप मान्ने भएकाले अहिलेको समयमा यसरी सर्प देखिएपछि धार्मिक विधि गर्नुपर्ने जेष्ठ नागरिकहरुको बुझाई छ । तर, वन तथा वातावरण क्षेत्रका जानकारहरू भने यसलाई पूर्णतः प्राकृतिक घटना भन्दै लगातारको वर्षा, पहिरो र जमिनको संरचनामा आएको परिवर्तनका कारण सर्पलगायत जीवजन्तुहरु बासस्थानबाट बाहिर निस्कन बाध्यभएको र माटो खन्ने वा पहिरो हटाउने क्रममा सर्प भेटिनु अस्वाभाविक नभएको उनीहरूको बुझाई छ । सर्प देखिनु शुभ वा अशुभ भन्ने वैज्ञानिक आधार नभएको र देशका धेरै स्थानका पहिरो प्रभावित क्षेत्रमा यस्ता घटना देखिनु सामान्य भएको विज्ञहरुको बुझाई छ । यद्यपि सामाजिक सञ्जालमा भने सर्प भेटिएको घटनामा अनेक चर्चापरिचर्चा भइरहेका छन् । केहीले यसलाई सडक छिट्टै खुल्ने शुभ संकेत भनेका छन् भने केहीले थप सतर्कता अपनाउनुपर्ने चेतावनीका रूपमा व्याख्या गरेका छन् । तर, धार्मिक आस्थासँग जोडिएका व्यक्तिहरु नागको पूजा गर्न सुझाव दिइरहेका छन् । यसबीच कृष्णभीर क्षेत्रमा सडक खुलाउने काम भने जारी रहेको छ । पहिरोका कारण राजधानी प्रवेश गर्ने मुख्य मार्ग अवरुद्ध हुँदा सयौँ यात्रु प्रभावित भएका छन् । सडक विभागका अधिकारीहरूले सकेसम्म छिटो एकतर्फी भएपनि यातायात सञ्चालन गर्ने प्रयास भइरहेको बताएका छन् । प्राकृतिक विपत्तिको पीडाबीच कृष्णभीरमा भेटिएको सर्पले स्थानीयस्तरमा कौतुहलता सिर्जना गरे पनि विज्ञहरू भने यसलाई सामान्य प्राकृतिक घटनाकै रूपमा लिनुपर्ने बताएका छन् । तर, धार्मिक विश्वास र लोकसंस्कृतिमा गहिरो प्रभाव रहेको नेपाली समाजमा यस्ता घटनाले शुभ–अशुभबारेको बहसलाई भने प्राथमिकता दिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com