कृष्णभीरमा सडक भासिएपछि बाहिरै सिलिन्डर भरेर काठमाडौँ पठाइँदै

काठमाडौं , भदौ १८ - पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यासको अभाव हुन नदिन उपत्यका बाहिरै सिलिन्डरमा बोटलिङ गरेर पठाउन थालिएको छ ।
ग्यास बोकेका बुलेटहरू वैकल्पिक मार्गबाट पनि उपत्यका प्रवेश गर्न नसकेपछि बाहिरका उद्योगमै सिलिन्डर भरेर ट्रकमा राखी काठमाडौँ पठाउने व्यवस्था मिलाइएको हो । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार आयल निगमले उपत्यका र छिमेकी जिल्लामा रहेका १६ उद्योगलाई बाहिरका उद्योगबाट ग्यास भर्न अनुमति दिएको छ । सोही अनुसार बारा, पर्सा, चितवन, मकवानपुर तथा नवलपरासीका ग्यास उद्योगहरूसँग समन्वय गरी सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै उपत्यका पठाउन थालिएको छ ।
मंगलबार धादिङ नौबिसेस्थित श्री ग्यासका १ हजार ५ सय सिलिन्डर चितवनको बाबा ग्यासमा भरेर पठाइएको छ । यस्तै, चितवनकै साईबाबाले आफ्नै ९ सय सिलिन्डर र नेपाल ग्यास गण्डकीले बालाजुस्थित नेपाल ग्यासका १ हजार २ सय सिलिन्डर भरेर उपत्यका पठाएका छन् । यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशनको एसटिसी ग्यास वीरगञ्जको मनोज ग्यासमा र काठमाडौँका एभरेष्ट तथा सुगम ग्यास हेटौँडाको साहारा ग्यासमा भरेर पठाइएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



