श्रम संस्कृति पार्टीले संसद भित्र पर्चा देखाएपछि मर्यादामा बसेर विरोध गर्न सभामुखको आग्रह

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा फागुन २१ को निर्वाचनपछि बनेको नयाँ संसदमा पहिलोपटक वेल घेराबन्दीको घटना देखिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायतका सांसदहरूले आकस्मिक रूपमा वेलमा गएर पर्चा प्रदर्शन गरेका थिए। संसदभित्र अचानक भएको विरोधपछि केही समय बैठक अवरुद्ध बनेको थियो। सभामुख डोलप्रसाद आर्यालले यस्तो व्यवहार संसदको मर्यादा विपरीत भएको भन्दै मर्यादित ढंगले विरोध गर्न निर्देशन दिएका छन्। “श्रम संस्कृति पार्टीका माननीयहरूले पर्चा लिएर प्रदर्शन गरेपछि संसदभित्र यस्तो विरोध गर्न मिल्दैन। मर्यादामा बसेर विरोध गर्न निर्देशन गर्छु,” सभामुखले बैठकमा भने। उनले थप स्पष्ट पार्दै संसदको नियमावलीअनुसार पर्चा देखाएर सदन अवरुद्ध गर्ने अभ्यास स्वीकार्य नहुने बताए। “पर्चा देखाएर सदनमा बस्न हाम्रो कानून, नियमावलीमा दिइएको देखिँदैन,” उनले उल्लेख गरे । केही मिनेटको विरोधपछि हर्क साम्पाङसहितका सांसदहरू आफ्नो-आफ्नो सिटमा फर्किएर बसेका थिए र बैठक पुनः नियमित रूपमा सञ्चालन भएको थियो।
लोकप्रिय खबर
लोड हुँदैछ...



