शैक्षिक परामर्श व्यवसायीको चरणबद्ध आन्दोलन घोषणा

काठमाडौं, असार ३१ – शैक्षिक परामर्श व्यवसायीहरूले सरकारले हालै लागू गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का विरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।
बुधवार काठमाडौंमा १५ वटा विभिन्न शैक्षिक परामर्श संस्थाहरुको संयुक्त पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । नियमावली आउनु स्वागतयोग्य भएपनि यसका केही प्रावधान अव्यावहारिक र व्यवसायमै संकट ल्याउने खालका रहेको उनीहरुको भनाई छ । व्यवसायीहरूले नियमावलीका कारण विद्यार्थीको सूचना पाउने अधिकार, निजी क्षेत्रको प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय शिक्षामार्फत नेपाली विद्यार्थीले प्राप्त गर्ने अवसरसमेत प्रभावित हुने दाबी गरेका छन् । उनीहरूले नियमावली यथावत् कार्यान्वयन भएमा धेरै परामर्श संस्था बन्द हुने अवस्था सिर्जना हुने चेतावनी दिएका छन् ।
व्यवसायीहरूले माग सम्बोधन नभएसम्म चरणवद्ध आन्दोलन गर्ने जनाएका छन् । घोषित कार्यक्रमअनुसार असार ३२ गते सबै सदस्यले कार्यालयमा कालोपट्टी बाँधेर नियमित सेवा सञ्चालन गर्दै विरोध जनाउने छन् । साउन १ गते काठमाडौंका विभिन्न स्थानमा प्लेकार्डसहित आधा घण्टा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरिनेछ । त्यसपछि पनि सरकारले वार्ताको पहल नगरे सम्पूर्ण सदस्यले आफ्नो कार्यालयको चाबी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने उनीहरुले चेतावनी दिएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



