वर्षा रोकिएसँगै सामान्य बन्दै जनजीवन

असोज १२ - गएको बुधबार रातिदेखि परेको लगातारको वर्षा रोकिएसँगै देशभरको जनजीवन क्रमश : सामान्य बन्दै गएको छ। केही दिनयता ठूलो बाढी आएको नारायणी, कालीगण्डकीलगायतका नदी तथा खोलामा पानीको सतह घट्न थालेको छ।
बुधबार बेलुकीदेखि सुरु भएको वर्षा पूर्वी क्षेत्रमा हिजो बिहानदेखि, मध्य क्षेत्रमा हिजो दिउँसोदेखि र पश्चिम क्षेत्रमा गएरातिदेखि रोकिएको हो। वर्षा रोकिएसँगै बाढीको अवस्था पनि क्रमश : सुधार हुँदै गएको छ।
काठमाडौं उपत्यकामा आज बिहान हुस्सु लागेको थियो भने चिसोसमेत बढेको छ । पछिल्लो समय भने मौसम खुलेर घाम लागेको छ।
मौसमविद्का अनुसार तत्काल ठूलो र लगातार वर्षा हुने सम्भावना कम छ। यद्यपि मनसुनको अवधि अझै बाँकी रहेकाले केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



