पानी पर्न कम भएपछि देशभर गर्मी बढ्यो, भैरहवामा तापक्रम ४१ डिग्री

पानी पर्ने क्रम कम भएसँगै देशभर गर्मी ह्वात्तै बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म ३७ डिग्रीभन्दा तलै रहेको तापक्रम बुधबार बढेर ४१ डिग्री सेल्सियससम्म पुगेको हो । बुधबार सबैभन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । यस्तै,नेपालगञ्जमा ३९ दशमलव ५, जनकपुरमा ३८ दशमलव २ र सिमरामा पनि ३८ दशमलव २ डिग्री सेल्सियस तापक्रम मापन भएको छ ।
यस्तै,काठमाण्डौमा पनि केही दिन अघि २५ डिग्रीमा झरेको तापक्रम बुधबार बढेर २९ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुधबार काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पानी परेको थियो । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा आजपनि तातो दिन हुने सम्भावना रहेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



