सुनसरी घटनाप्रति भण्डारीको चिन्ता, संयमता अपनाउन आह्वान

काठमाडौं , साउन १७ - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीसहित पूर्वी तराईका जिल्लामा पछिल्ला दिनमा देखिएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासन सुदृढ बनाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेकि छन् ।
आइतबार च्यासलस्थित एमाले पार्टी कार्यालयमा तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान र सहिष्णुतालाई कायम राख्नुपर्ने बताइन् ।
उनले संवेदनशील अवस्थामा अफवाह, घृणा र विभाजन फैलाउने गतिविधिबाट टाढा रहँदै सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । साथै, स्वर्गीय तुल्सीलाल अमात्यले अवलम्बन गर्नुभएको सिद्धान्तनिष्ठ राजनीति, त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेर रहोस् भन्ने कामना व्यक्त गरिन् ।
भण्डारीले लोकतन्त्र स्थापनाका लागि योगदान पुर्याएका नेताहरूको आदर्श र विचारलाई आत्मसात गर्दै अघि बढ्न आवश्यक रहेको पनि उल्लेख गरिन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



