कालिकोट जाँदै गरेको बोलेरो दैलेखमा दुर्घटनाग्रस्त, तीन जनाले गुमाए ज्यान

दैलेखको भैरवी गाउँपालिका–७ कालिगौडास्थित भित्री सडक खण्डमा सोमबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प.०१–००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो एक्कासी ब्रेक फेल भई सडकबाट करिब ३०० देखि ४०० मिटर तल खसेको थियो। दुर्घटनामा गाडीमा सवार आठ जनामध्ये सात पुरुष र एक महिला रहेका थिए।यस्तै जिल्ला प्रशासन कार्यलय दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले दुर्घटनालगत्तै भैरवी गाउँपालिकाको एम्बुलेन्समार्फत पाँच जना घाइतेलाई जिल्ला अस्पताल दैलेख पठाइएको थियो भने अन्य तीन जनाको घटनास्थलमै उद्धार गरिएको जानकारी दिएका छन् । र उद्धार तथा राहतका लागि प्रहरी चौकी भैरवी, प्रहरी चौकी पानीपोखरी, इलाका प्रहरी कार्यालय दुल्लु तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी टोली खटिएको थियो।दुर्घटनामा चालक कालिकोटको शुभकालिका गाउँपालिका–५ निवासी करिब ३५र३६ वर्षीय कलबहादुर रोकाय, शुभकालिका–४ निवासी करिब ३८ वर्षीय मित्र सुनार तथा शुभकालिका–६ निवासी करिब ५५र६० वर्षीया पुल्तिसरा विक गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।यस्तै शुभकालिका–४ निवासी करिब ३८ वर्षीय चक्र सुनार, शुभकालिका–६ निवासी करिब २० वर्षीय भरत विक, शुभकालिका–५ निवासी करिब २५र२६ वर्षीय कलम सुनार, शुभकालिका–६ निवासी करिब २६र२७ वर्षीय सुमत विक तथा शुभकालिका–४ निवासी करिब ४०र४५ वर्षीय नैन सुनार गम्भीर घाइते भएका छन्। उनीहरूमध्ये चक्र सुनार, भरत विक र कलम सुनारको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ।गम्भीर अवस्थाका सुमत विक र नैन सुनारलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ।दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकको कमाण्डमा थप प्रहरी टोली परिचालन गरिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



