सिंहदरबारको नाम र कार्यशैली दुवै बदल्नुपर्छ : सांसद हरि ढकाल

काठमाडौं , साउन २४ - राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलहरूको नाम परिवर्तन गरिएपनि सिंहदरबारको नाम यथावत रहेकोमा प्रश्न उठाउँदै नेपालमा सिंह नपाइने भएकाले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि प्रश्न उठाएका हुन् । सांसद ढकालले नाममात्र नभई सिंहदरबारको कार्यशैली र हाउभाउमासमेत सुधारको आवश्यकता औंल्याउँदै प्रशासनिक केन्द्रको संरचना र भाषामा विद्यमान परम्परागत शैलीलाई चिर्नुपर्नेमा जोड दिए ।
यसैगरी उनले मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु नै वर्तमान समयको सबैभन्दा ठूलो उपलब्धि हुने बताए ।
देश एकैपटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने जिकिर गर्दै सांसद ढकालले अहिलेको आवश्यकता एकअर्कालाई दोषारोपण गर्नुभन्दा पनि नागरिकमा आशा र विश्वास जगाउने खालका बहस पैरवी गर्नु रहेको स्पष्ट पारे । विगतमा आफूहरूले उठाएका प्रश्न र अहिले जिम्मेवारीमा पुग्दा भोग्नुपरेका व्यवहारिक कठिनाइलाई स्वीकार गर्दै उनले सकारात्मक परिवर्तनका लागि सबैको सामूहिक प्रयास र विश्वास आवश्यक रहेकोमा जोड दिए ।
सभापति ढकालले नागरिकले दैनिक उपभोग्य वस्तुका लागि भोग्नुपरिरहेको सास्तीप्रति आफू संवेदनशील रहेकोसमेत जिकिर गरे भने नाममात्र नभई सिंहदरबारको कार्यशैली र प्रवृत्तिमासमेत परिवर्तनको आवश्यकता रहेकोले प्रशासनिक केन्द्रको ‘मुहान’ मै सुधार गर्नुपर्ने र पुरानो सोच तथा भाष्यलाई चिर्नुपर्ने जिकिर गरे ।
लोकप्रिय खबर
लोड हुँदैछ...



