धार्मिक तनावबारे पारदर्शी छानबिन गर्न सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं , साउन १९ - नेपाली कांग्रेसका सचेतक निश्कल राईले सुनसरीसहित पूर्वी मधेसमा भएको धार्मिक तनावको विषयमा निष्पक्ष अनुसन्धान गरि सुरक्षा कमजोरी र राज्यको भूमिकासहितको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सचेतक राईले सम्प्रादायिक सद्भाव खल्बल्याउने गरी सामाजिक सञ्जालमार्फत अफबाह फैल्याउनेमाथि कानूनी कारबाही गर्न समेत माग गरे । राईले कुनैपनि धर्मलाई शंकाको घेरामा नराख्न सरकारको ध्यानाकर्षण गराउँदै सरकारलाई खुला, पारदर्शी र सहयोगी बन्न आग्रह गरे । सचेतक राईले सुनसरी घटनापछि सरकार र आन्दोलनरत एक पक्षबीच भएको १३ बुँदे सहमतिप्रति प्रश्न उठाउँदै धर्म, नागरिकता र धार्मिक संस्थासँग सम्बन्धित विषयमा कुनै एक पक्षसँगमात्र सहमति गरेर समाधान खोज्दा अर्को पक्ष असन्तुष्ट वा असुरक्षित महशुस गर्ने कुरामा सरकार सचेत हुनुपर्नेमा जोड दिए । धर्मका नाममा हुने द्वन्द्वले अन्ततः कुनैपनि धर्मलाई विजयी नबनाई मानवतालाई नै पराजित गर्ने इतिहास रहेको पनि स्मरण गराए ।
धर्मनिरपेक्ष राज्यको संवैधानिक चरित्र, नागरिकता र धार्मिक संस्थासँग सम्बन्धित विषयमा सरकारले सबै नागरिकको साझा अभिभावकको भुमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



