Global TV Logo
लोड हुँदैछ...

दशैँ आयो, गाउँघरमा चहलपहल बढ्यो

B
Binita Thapa
२०२६-१०-१९, ०७:५४ AM
होमपेज/विशेष समाचार
दशैँ आयो, गाउँघरमा चहलपहल बढ्यो

कार्तिक २ - दशैँ आयो, गाउँघरमा चहलपहल बढ्यो । परदेश र सहरबाट गाउँ फर्किनेहरूको लर्कोसँगै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्ममा चाडपर्वको उमङ्ग छाएको छ । 

यही उमङ्गलाई थप उल्लासमय बनाइरहेको छ - गाउँगाउँमा हालिएका लिङ्गे पिङ । दोलखाका विभिन्न गाउँघरमा दशैँलाई लक्षित गर्दै लिङ्गे पिङ हाल्ने र खेल्ने क्रम बढेको छ । बाँस, काठ र डोरीको सहायताले बनाइने पिङमा मच्चिँदै रमाउनेहरूका लागि यो केवल मनोरञ्जनको साधन मात्र होइन, दशैँसँग जोडिएको एउटा पुरानो सांस्कृतिक परम्परा पनि हो । मोबाइल र आधुनिक प्रविधिमा रमाउने नयाँ पुस्तालाई केही समय भए पनि मौलिक संस्कृतिसँग जोड्न पिङले महत्त्वपूर्ण भूमिका खेलिरहेको स्थानीयको अनुभव छ । भीमेश्वर नगरपालिका–६ का सुजन खड्का लिङ्गे पिङले बालबालिकालाई आफ्नो संस्कृति र परम्पराबारे बुझ्ने अवसर दिएको बताउछन् । 

विगतमा दशैँ आउनुअघि नै गाउँका युवाहरू एकजुट भएर पिङ बनाउने र सामूहिक रूपमा रमाइलो गर्ने चलन थियो। पिङ हाल्ने क्रममा देखिने आपसी सहयोग र पिङ खेल्दा गाउँभरि छाउने हाँसोखुसीले दशैँलाई अझ विशेष बनाउँथ्यो । समयसँगै मनोरञ्जनका माध्यम फेरिए पनि यही परम्परालाई निरन्तरता दिन गाउँघरमा पिङ हाल्ने क्रम भने अझै कायम छ । बैतेश्वर गाउँपालिका–७ का स्थानीय रामबहादुर खड्का पनि लिङ्गे पिङको परम्परा जोगाउनुपर्नेमा जोड दिन्छन् । दशैँको टीकाका दिन एकपटक भए पनि जमिन छाड्नुपर्छ भन्ने मान्यतासँग पिङ खेल्ने चलन जोडिएको उनको भनाई छ । लिङ्गे पिङसँग नयाँ पुस्ताको रमाइलो मात्र होइन, पुरानो पुस्ताका सम्झना पनि जोडिएका छन् । पिङको मच्चाइसँगै बाल्यकालका दिन, साथीसङ्गीसँग बिताएका पल र गाउँघरको सामूहिक जीवनका सम्झना ताजा हुने गर्छन् । तर, पछिल्लो समय गाउँघरमा पिङ देखिन छाडेकोप्रति ज्येष्ठ नागरिकहरू चिन्तित छन् । बैतेश्वर गाउँपालिका–८ का भक्त जिरेलका अनुसार पिङले गाउँमा सामूहिकता बढाउने र नयाँ पुस्तालाई पुरानो संस्कृति चिनाउने काम गर्छ। तर, पहिले जताततै देखिने पिङ अहिले कम हुँदै गएको उहाँको गुनासो छ ।

दशैँको खुसी टीका र जमरामा मात्रै सीमित छैन । आफन्तसँगको भेटघाट, समुदायबीचको आत्मीयता र पुस्तौँदेखि चलिआएका सांस्कृतिक परम्पराले पनि दशैँलाई विशेष बनाउँछन् । लिङ्गे पिङ त्यस्तै एउटा परम्परा हो, जसले मनोरञ्जनसँगै सामाजिक एकता र सांस्कृतिक पहिचानलाई समेत जीवन्त बनाइरहेको छ । आधुनिकताको प्रभावसँगै पुराना चलन हराउँदै जान सक्ने जोखिम बढिरहेका बेला यस्ता मौलिक परम्परालाई निरन्तरता दिनु आवश्यक छ । गाउँघरमा पिङ हाल्ने, सबै पुस्तालाई सहभागी गराउने र सुरक्षित रूपमा खेल्ने वातावरण बनाउन सके दशैँको रौनक मात्र होइन, नेपाली संस्कृति र परम्परा पनि भावी पुस्तासम्म हस्तान्तरण गर्न सकिनेछ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com