Global TV Logo
लोड हुँदैछ...

डा. केसी–सरकार वार्ता आज पनि जारी

S
Sristi Thakuri
२०२६-०७-२७, ०६:४५ AM
होमपेज/विशेष समाचार
डा. केसी–सरकार वार्ता आज पनि जारी

काठमाडौं , साउन ११ - शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका स्वार्थ प्रेरित पदाधिकारीको नियुक्ति खारेज गर्नुपर्नेलगायतका पाँच बुँदे माग राखेर अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग सरकारले आजपनि वार्ता गर्दैछ । 

आइतबार सेती प्रादेशिक अस्पतालका मेसु डा. हेमराज पाण्डेको कार्यकक्षमा १२ घण्टासम्म सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच छलफल चलेको थियो । उनीहरुबीच सम्झौताको मस्यौदासमेत भइसकेको थियो तर केही प्राविधिक कुरा मिलाउनुपर्ने भएका कारण अन्तिम सहमति हुन नसकेको बताइएको छ । डा. केसीका सहयोगी डाक्टर अमृत जैशीले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी सम्बन्धी वैकल्पिक व्यवस्था र निजी मेडिकल कलेजको सिट संख्याको विषयमा प्राविधिक कुरा मिलाउन बाँकी रहेकाले आइतबारको छलफल बिना निष्कर्ष सकिएको जानकारी दिएका छन् । 

सबैभन्दा पेचिलो विषय शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी पदमुक्त गर्ने बनेको छ । स्वार्थ बाँझिने व्यक्तिलाई नियुक्ति गरिएको भन्दै डा. केसीले दुवै जनालाई हटाएर स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको प्रक्रिया अवरुद्ध नहुने गरी व्यवस्था गर्न माग गरेका छन् । सरकार पक्ष विवादमा परेका रजिष्ट्रार डा.भीमबहादुर चन्दलाई जिम्मेवारी मुक्त गर्न तयार भइसकेको छ भने उपकुलपति डा.सुनिलप्रसाद जोशीको विषयमा छलफल जारी छ ।

 गत बिहीबारदेखि कृष्ण मन्दिरको धर्मशालामा अनसन बसेका केसीलाई सेती प्रादेशिक अस्पतालमा सारिएको थियो । अहिले उनलाई सेतीकै आईसीयूमा राखिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com