ऊर्जा मन्त्रालयको समीक्षा नसकिँदा नयाँ सर्वेक्षण अनुमतिपत्र जारी ठप्प

विद्युत् विकास विभागले जारी गर्ने जलविद्युत्, सौर्य ऊर्जालगायत सबै आयोजनाको सर्वेक्षण अनुमतिपत्र रोकिएको छ ।
विभागले वैशाखयता नयाँ सर्वेक्षण अनुमतिपत्र जारी गरेको छैन । ३ वैशाख २०८३ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् विकास विभागलाई सबै सर्वेक्षण र निर्माण अनुमतिपत्रको पूर्ण सूची तयार गरी ६० दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएका थिए ।
उनले समीक्षा भएपछि मात्र नयाँ सर्वेक्षण अनुमतिपत्र जारी गर्न निर्देशन दिएका थिए । त्यसयता नयाँ सर्वेक्षण अनुमतिपत्र रोकिएको हो । ऊर्जामन्त्री श्रेष्ठले विभागद्वारा अनुमतिपत्र जारी भएको मिति, सम्झौताअनुसारका माइलस्टेसन, माइलस्टोज प्राप्ति/प्रगतिको अवस्थासहित नियम पालना नभएका आयोजनाहरूको सूची सार्वजनिक गर्न भनेका छन् ।
विद्युत्त विकास विभागका अनुसार ४ जेठसम्म १ मेगावाटभन्दा ठूला ७ हजार ७ सय ६ दशमलव ७३ मेगावाटका २ सय ३५ जलविद्युत् आयोजनाले सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन दिएका छन् । १ मेगावाटभन्दा साना ४३ दशमलव ७५ मेगावाटका ५२ जलविद्युत् आयोजनाले पनि अनुमतिपत्रका लागि आवेदन दिएका छन् । सौर्य ऊर्जातर्फ १ सय ९९ दशमलव ७० मेगावाटको १७ कम्पनीले आवेदन दिएका छन् । वायु ऊर्जातर्फ १ मेगावाटको १ आयोजनाले आवेदन दिएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



