ई–पासपोर्ट खरिद प्रकरण : जर्मन कम्पनीका प्रतिनिधिलाई अख्तियारको बयानका लागि बोलावट

काठमाडौँ, असार ३ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय मेसिन रिडेबल पासपोर्ट खरिद प्रकरणको अनुसन्धानका लागि जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई बयानका लागि बोलाएको छ ।
आयोगले बिहीबार सार्वजनिक सूचना जारी गरी बयानका लागि जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई उपस्थित हुन भनेको हो । अख्तियारले पासपोर्ट खरिदका दुई छुट्टाछुट्टै प्याकेजमा आबद्ध जर्मन कम्पनीहरु मुलबाउर र भेरिडोसका प्रतिनिधिलाई बोलाएको छ । पहिलो प्याकेज अन्तर्गत प्रि–एनरोलमेन्ट, एनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमका मुलबाउर आईडी सर्भिसेज कम्पनीले कम्पनीका प्रतिनिधि गेरहार्ड माउर र पाभ्ले राकिकले हस्ताक्षर गरेका थिए ।
यसैगरी,दोस्रो प्याकेज अन्तर्गत क्वालिटी कन्ट्रोल र प्याकिङ सिस्टमका लागि भेरिडोस कम्पनीका प्रतिनिधि फेबियोला बेलरशेम र फ्लोरियन पास्क्लिनले हस्ताक्षर गरेका थिए । अख्तियारले हस्ताक्षरकर्ताको नाम–ठेगाना नै किटान गरी बयानमा उपस्थित हुन भनेको छ । उनीहरुलाई आयोगले टंगालस्थित केन्द्रीय कार्यालय वा भर्चुअल माध्यमबाट तोकिएको समयसीमा भित्र उपस्थित हुन भनेको छ ।
तर, सूचनामा समयसीमा खुलाइएको छैन । अख्तियारले सार्वजनिक सूचनालाई बेवास्ता गरेर वयानका लागि उपस्थित नभएमा नेपालको प्रचलित कानूनबमोजिम थप कानूनी कारबाही अगाडि बढाइने स्पष्ट पारेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



