महाधिवेशनको २० दिनपछि पनि रास्वपामा पदाधिकारी चयन हुन सकेन

काठमाडौं, असार ३२ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सम्पन्न भएको २० दिन बित्दा पनि सभापति रवि लामिछानेले पदाधिकारी चयन गर्न सकेका छैनन् ।
सभापति लामिछानेलाई पार्टीमा दुईवटा समूहलाई मिलाउनुपर्ने बाध्यताका कारण पदाधिकारी मनोनयनमा सकस परेको हो । अर्कोतिर सरकारमा रहेकाहरूलाई दिइने दोहोरो भूमिकाबारे प्रश्न उठेपछि रविले सचिवालय,केन्द्रीय समिति र पदाधिकारीको पनि टुंगो लगाउन सकेका छैनन् । असारभित्रै पार्टी पदाधिकारी र केही केन्द्रीय समिति थप्ने सभापति लामिछानेको तयारी थियो ।
तर,महिनाको अन्तिम दिनसम्मपनि निर्णय गर्न सकेका छैनन् । विभिन्न समूहहरूबाट पार्टीमा प्रवेश गरेकालाई समायोजन गर्दा केही क्लस्टर मिलाउनुपर्ने अवस्था छ । अर्कातिर नेता व्यवस्थापनको चुनौती पनि छ । त्यहीकारण रविले असार बित्न लाग्दा पनि पदाधिकारी,सचिवालय र केन्द्रीय समितिमा नेताहरू थप्ने सम्भावना तत्काललाई सकिएको छ । गत आइतबार सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच सचिवालय केन्द्रीय समिति र पदाधिकारी टुंग्याउने विषयमा छलफल भएको थियो ।
रास्वपाको विधानमा ५१ जना केन्द्रीय समिति सदस्य सभापतिले थप्न सक्ने अधिकार दिइएको छ । तर, १ सय जनाभन्दा बढी केन्द्रीय सदस्यका आकांक्षी छन् । सभापतिले अब १० जना पदाधिकारी र १८ भन्दा बढी सचिवालय सदस्य मनोनीत गर्न पाउनेछन् । ९९ सदस्यीय केन्द्रीय समितिमा ९७ जनाको मात्रै शपथ गरिएको छ । दुईजना केन्द्रीय सदस्यको विषयमा निर्वाचन आयोगले धाँधली गरेको भन्दै उजुरी परेपछि रोकिएको थियो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



