पश्चिम तराईमा अत्यधिक गर्मी, जनजीवन कष्टकर

तराईमा केही दिनदेखि बढिरहेको गर्मीले जनजीवन कष्टकर बनेको छ ।
दिउँसोको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगन्ज, धनगढी, दिपायललगायतका क्षेत्रका बासिन्दा बढी प्रभावित भएका हुन् । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसको नजिक छ । तापक्रम बढेसँगै तातो हावा चलिरहेको छ । तापक्रम बढेपछि अस्पतालहरुमा बिरामीको चाप बढेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्मी बढेको बेला पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ । यस्तै,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड्कन बढेमा,श्वासप्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउने, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ । यसैबीच,अत्यधिक गर्मी बढेसँगै पश्चिम तराईका जिल्लाहरुमा विद्यालयको पठनपाठन प्रभावित भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आजदेखि पर्सिसम्म ३ दिन नगरभित्रका संस्थागत र सामुदायिक विद्यालय बन्द गरेको छ । त्यसैगरी कृष्णपुर नगरपालिकाले पनि आजदेखि लागू हुने गरी तीन दिनका लागि नगरपालिका क्षेत्रका सबै विद्यालयमा बिदा दिएको छ । शुक्लाफाँटा नगरपालिकाले पनि गर्मीको अवस्थालाई मध्यनजर गरी छलफल गरेर बिदा दिने विषयमा निर्णय गरिने जनाएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



