Global TV Logo
लोड हुँदैछ...

नतिजा छिटो आउनु व्यवस्थापन सुधारको परिणाम हो: शिक्षा मन्त्री

S
Sristi Thakuri
२०२६-०६-२०, ०८:२१ AM
होमपेज/विशेष समाचार
नतिजा छिटो आउनु व्यवस्थापन सुधारको परिणाम हो: शिक्षा मन्त्री

 काठमाडौं असार ६- कक्षा १२ को नतिजा अपेक्षाकृत छिटो सार्वजनिक भएपछि विभिन्न कोणबाट उठेका जिज्ञासा र प्रश्नप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मीत पोखरेल स्पष्टीकरण दिएका छन्। उनले नतिजा प्रकाशनलाई लिएर फैलिएका भ्रम चिर्दै यस वर्ष कुनै पनि आवश्यक प्रक्रिया नहटाइएको र उत्तरपुस्तिका परीक्षणमा हतार नगरिएको बताएका छन्।

मन्त्रीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नतिजा छिटो प्रकाशित गर्न विगतमा अपनाइँदै आएका कुनै पनि आवश्यक प्रक्रिया हटाइएको नभई व्यवस्थापन र कार्यसम्पादनमा सुधार गरिएको स्पष्ट पारेका हुन्।

उनका अनुसार विगतमा उत्तरपुस्तिका परीक्षणपछि समपरीक्षणका लागि सबै सामग्री काठमाडौं ल्याउनुपर्ने व्यवस्था थियो। यस वर्ष भने सम्बन्धित स्थानमै समपरीक्षण गर्न सकिने व्यवस्था मिलाइएकाले समय बचत भएको हो। यसले प्रक्रियालाई छरितो बनाएको भए पनि मूल्यांकनको गुणस्तरमा कुनै सम्झौता नगरिएको उनको भनाइ छ।

त्यस्तै, उत्तरपुस्तिका अनावश्यक रूपमा लामो समयसम्म रोकिराख्ने अभ्यास अन्त्य गर्दै परीक्षण प्रक्रिया समयमै सुरु गरिएको मन्त्रीले बताएका छन्। “यसको अर्थ कसैलाई हतारहतार उत्तरपुस्तिका जाँच गर्न लगाइएको होइन,” उनले स्पष्ट पारेका छन्।

परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतको तुलनामा बढी जनशक्ति परिचालन गरिएको, प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हटाइएको र समन्वयलाई थप प्रभावकारी बनाइएको पनि उनले उल्लेख गरेका छन्।

मन्त्रीले परीक्षा सम्बन्धी शुल्क वृद्धिको विषयमा पनि स्पष्टिकरण दिएका छन्। उनका अनुसार शुल्क वृद्धि वर्तमान सरकारले गरेको निर्णय नभई गत वर्षको पूरक परीक्षादेखि नै लागू भएको व्यवस्था हो। यस विषयमा वर्तमान सरकारले कुनै नयाँ निर्णय नगरेको उनले बताएका छन्।

उनले यस वर्ष नतिजा “असामान्य रूपमा छिटो” आएको नभई विगतमा हुने अनावश्यक ढिलाइलाई सुधार गरी उचित समयमा नतिजा प्रकाशित गरिएको दाबी गरेका छन्।

मन्त्रीका अनुसार उत्तरपुस्तिका जाँचमा हतार नगरिएको, आवश्यक जनशक्ति थप गरिएको, समपरीक्षणका लागि काठमाडौं ल्याउनुपर्ने बाध्यता हटाइएको, उत्तरपुस्तिका लामो समय रोक्ने अभ्यास अन्त्य गरिएको तथा परीक्षण प्रक्रिया समयमै सुरु गरिएकाले नतिजा प्रकाशन छिटो सम्भव भएको हो।

यसैबीच, उनले गत वर्षको तुलनामा यस वर्ष कक्षा १२ को उत्तीर्ण प्रतिशत करिब ८ प्रतिशतले वृद्धि भएको तथ्य पनि स्मरण गराएका छन्। शिक्षा क्षेत्रमा सुधारका प्रयासको परिणामस्वरूप नतिजा व्यवस्थापन र शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव देखिएको उनको दाबी छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com