वृद्ध दम्पतीलाई बन्धक बनाई लुटपाट गर्ने गिरोहका पाँच जना पक्राउ

काठमाडौं ,भदौ २२ - खाँडादेवी गाउँपालिका–२, मझुवा नेवारटोलमा वृद्ध दम्पतीलाई घरभित्रै बन्धक बनाई लुटपाट गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
८५ वर्षीय बखतमान लामा र ८६ वर्षीया कान्छीमाया तामाङलाई नकाबधारी समूहले हात बाँधेर मुख तथा आँखामा टेप लगाई ज्यान मार्ने धम्की दिँदै गरगहना र नगद लुटेर फरार भएको घटनामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुली घ्याङलेखका २५ वर्षीय सुमन जर्घा मगर, खाँडादेवी–२ का ३२ वर्षीय दीर्घराज मोक्तान र खाँडादेवीकै ३३ वर्षीय पशुपति श्रेष्ठ रहेका छन्। उनीहरूबाट लुटिएको नगद, सवारीसाधन, बैंकको चेकबुक तथा बहुमूल्य धातुका औँठीलगायत सामग्री बरामद भएको प्रहरीले जनाएको छ।
लुटिएको सुनचाँदी खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा भक्तपुरमा व्यवसाय गर्दै आएका झापाका ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटाका ३८ वर्षीय गुणराज विश्वकर्मालाई पनि सुनका रिङसहित पक्राउ गरिएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा पशुपति श्रेष्ठको समूह खाँडादेवी–७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फुटाएर रकम चोरी तथा स्थानीयका खसी–बोका चोरीमा समेत संलग्न रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ परेकामध्ये केहीविरुद्ध यसअघि पनि डाँका तथा चोरी, अभद्र व्यवहार र जुवा कसुरमा मुद्दा चलेको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



