भोटेकोशीमा बाढीको जोखिम कायमै, नदी थुनिएर बनेको ताल फुट्ने खतरा

काठमाडौं , भदौ ११ - भोटेकोशी नदीमा सम्भावित बाढीको जोखिम अझै कायम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले बिहीबार जारी गरेको विशेष सूचनामा भदौ १० गते बाढी सिर्जना भएको क्षेत्रमा नदी थुनिएर ताल बनेको जानकारी दिएको छ । उक्त ताल निरन्तर बढिरहेको र जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले जोखिम कायमै रहेको महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनामा भू–उपग्रहबाट खिचिएका तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा बाढी उत्पन्न भएको स्थानमा नदी थुनिएर ताल बनेको पुष्टि भएको हो ।
नदी थुनिएपछि बनेको तालको पानीको सतह बढ्दै गएको र त्यसले तल्लो तटीय क्षेत्रमा थप जोखिम निम्त्याउन सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई नदी किनार तथा जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ । त्यस्तै, नदी आसपास यात्रा गर्ने यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबै पक्षलाई पनि आवश्यक सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।
ताल फुटेमा एक्कासि ठूलो मात्रामा पानीको बहाव तल्लो क्षेत्रमा आउन सक्ने भएकाले नदीको बहाव र आसपासको अवस्थाबारे निरन्तर जानकारी लिन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्नसमेत आग्रह गरिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



