Global TV Logo
लोड हुँदैछ...

बाढी - पहिरोले देशभरका राजमार्ग प्रभावित, केही सडकखण्ड अझै पूर्ण अवरुद्ध

B
Binita Thapa
२०२६-०९-२१, ०३:५१ AM
होमपेज/समाचार
बाढी - पहिरोले देशभरका राजमार्ग प्रभावित, केही सडकखण्ड अझै पूर्ण अवरुद्ध

असोज ५ - देशका विभिन्न स्थानमा लगातार भइरहेको वर्षाका कारण आएको बाढी र पहिरोले प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडकमा भएको अवरोध र सञ्चालनको अवस्थाबारे जानकारी दिएको हो।

कोशी प्रदेशअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका–४ स्थित नेता भिरमा असोज २ गते बिहान १०ः३० बजे गएको पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढी र पहिरोका कारण सडक यातायात प्रभावित भएको प्रहरीले जनाएको छ। काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै विशेष व्यवस्था गरिएको छ। सोअनुसार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द रहनेछ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको अवस्था हेरी १० टनसम्मका मालवाहक सवारीसाधन सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।

रसुवा जिल्लाका मुख्य राजमार्गहरू पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण असोज १ गते राति १० बजेदेखि टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटकै पासाङ ल्हामु सडकखण्डअन्तर्गत विदुर नगरपालिका–१० को सिमटारमा बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

धादिङ हुँदै जाने पृथ्वी राजमार्गमा भने पहिरो हटाएर यातायात एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलामा भदौ १६ गते तथा शीतलबजारमा भदौ २६ गते गएको पहिरो हटाएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।

अवरुद्ध सडकखण्डहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाल प्रहरीको टोली निरन्तर परिचालन भइरहेको प्रहरीले जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
बाढी - पहिरोले देशभरका राजमार्ग प्रभावित, केही सडकखण्ड अझै पूर्ण अवरुद्ध | Global TV Khabar