बाढीपहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध

असोज १० - अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभरका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले जारी गरेको शनिबार बिहान ७ बजेसम्मको तथ्यांकअनुसार बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा सडक सञ्जाल पूर्ण रूपमा टुटेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै दर्जनौँ सडक खण्डमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ । उपत्यकाअन्तर्गत ललितपुरको बागमती गाउँपालिकास्थित भट्टेडाँडा र गोदावरी नगरपालिकाको बिखेंधारामा असोज ९ गते बिहानै गएको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। बागमती प्रदेशका अन्य जिल्लाहरूको अवस्था पनि उस्तै छ ।
काभ्रेपलाञ्चोकको रोशी र धुलिखेलमा गएको पहिरोले बीपी राजमार्ग र अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएका छन् । धादिङको बेनीघाट, कृष्णभीर र गजुरी लगायतका स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन ठप्प भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि धादिङ आसपासका क्षेत्रमा पृथ्वी राजमार्गमा चल्ने सम्पूर्ण सवारी साधनहरूलाई पूर्ण रूपमा रोक लगाइएको छ ।
यसैगरी, रसुवा र नुवाकोटका मुख्य राजमार्गहरू भदौ महिनादेखि नै बाढी र पहिरोका कारण अवरुद्ध छन्। नुवाकोटको पासाङ ल्हामु सडक खण्ड र टोखा(छहरे सडक खण्डमा सवारी साधन चल्न सकेका छैनन् । मकवानपुरको भीमफेदी र हेटौंडाको नेवारपानीमा गएको पहिरोले कान्ति लोकपथ र महेन्द्र राजमार्ग पूर्ण रूपमा बन्द भएका छन् ।
कोशी प्रदेशमा पनि बाढी र पहिरोले ठूलो असर पुर्याएको छ। ओखलढुंगाको मानेभञ्ज्याङस्थित भँडारे खोलामा आएको बाढीले सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ। पाँचथरको नावाखोला र दोभाने खोलामा बाढी र पहिरो आएपछि तमोर करिडोर र मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएका छन्।
सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै विभिन्न जिल्लामा रात्रिकालीन यात्रामा कडाइ गरिएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



