Global TV Logo
लोड हुँदैछ...

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवालाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

S
Sristi Thakuri
२०२६-०८-१६, ०९:५० AM
होमपेज/विशेष समाचार
तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवालाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं , साउन ३१ - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवालाई आग्रह गरेकी छिन् । 

मदन भण्डारी आइडोलोजी स्टुडेण्ट फोरमले आज आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले अध्ययन, संवाद र बहसबाट आफ्नो राजनीतिक धारणा निर्माण गर्न आग्रह गरेकी हुन् । आफूभन्दा भिन्न विचार राख्नेलाई पनि सम्मान गर्न युवालाई उनले आग्रह गरिन् । लोकतन्त्रको शक्ति आफूले राखेको विचारमात्र स्थापित गर्नुमा नभई फरक मतलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा दृष्टिकोण निर्माण गर्ने संस्कारमा रहेको उनको भनाई थियो । सामाजिक सञ्जाल, सूचना प्रविधि र विश्वव्यापी सम्पर्कका कारण आजको पुस्ता विगतका पुस्ताभन्दा बढी सूचनासम्पन्न भएपनि धेरै सूचना हुनु र सही ज्ञान हुनु फरक विषय भएको भण्डारीको भनाई छ ।

 सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्ने क्षमता युवाका लागि आवश्यक रहेको उनले बताइन् । राजनीतिमा युवाको सहभागिता पनि अपरिहार्य रहेको बताउँदै उनले निर्वाचनका समयमा मत माग्ने वा दिने कार्यमामात्र युवालाई सिमित गर्न नहुने उनको जिकिर छ । समाज बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा भूमिका खोज्ने तथा देशको विकास र परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रियाका रूपमा युवाको राजनीतिक सहभागिता अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । 

उनले मदन भण्डारीका विचारलाई नयाँ पुस्ताले समय र बदलिँदो सामाजिक परिवेशसँग जोडेर अध्ययन तथा आत्मसात गर्नुपर्नेमा जोड दिइन् । लोकतन्त्रलाई थप प्रभावकारी र जनमुखी बनाउने, राज्यका संस्थालाई जवाफदेही तथा सक्षम बनाउने, राजनीतिमा युवाको सहभागिता र विश्वास बढाउने तथा शिक्षा र रोजगारीका अवसर विस्तार गर्ने विषयमा युवाले गम्भीर बहस गर्नुपर्ने उनको भनाई थियो । युवालाई लोकतन्त्रप्रति प्रतिबद्ध, सामाजिक न्यायप्रति संवेदनशील, राष्ट्रिय हितप्रति सचेत, अध्ययनशील र जिम्मेवार नागरिक बन्न पूर्वराष्ट्रपति भण्डारीले आग्रह गरिन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com