अख्तियारको छानबिनमा ओली, देउवा र दाहालका पूर्वस्वकीय सचिवहरू

काठमाडौं , भदौ ४ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली,शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीयमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन अघि बढाएको छ ।
अख्तियारले ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, देउवाका स्वकीय सचिव भानु देउवा र दाहालका स्वकीय सचिव गंगा दाहालको सम्पत्तिमाथि आयोगले अनुसन्धान अघि बढाएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट समेत पत्र आएपछि आयोगले निजामती कर्मचारी र प्रहरीको संयुक्त टोली खटाएर छानबिन थालेको छ । अख्तियारले तीन पूर्वप्रधानमन्त्रीका तत्कालीन स्वकीय सचिवहरूको विवरण माग्दै राष्ट्र बैंक, मालपोत कार्यालयसहित २० भन्दा बढी निकायलाई कारोबार र सम्पत्तिको विवरण माग्दै पत्राचार गरिसकिएको छ । तीनै जनाको चाँडै बयान लिने तयारी भएको छ । केही अस्वाभाविक बैंकिङ कारोबार पनि देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरुले दाबी गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाको अनुसन्धानका लागि १३ पृष्ठको फारमसमेत भराइएको आयोग स्रोतले जनाएको छ । पूर्वप्रधानमन्त्री दाहालकी छोरीसमेत रहेकी गंगाको आर्थिक कारोबारको विवरण अनुसन्धान अधिकृतहरूले अध्ययन गरिरहेका छन् । तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव बज्राचार्यबारे बदनियतपूर्वक दरबारमार्गको सरकारी जग्गा सस्तोमा यती समूहलाई लिजमा दिएको प्रकरणको अनुसन्धानपछि उनीमाथि समेत अनुसन्धान गर्न प्रहरीले अख्तियारलाई सिफारिस गरेको थियो ।
लोकप्रिय खबर
लोड हुँदैछ...



