पूर्णिमाको पौरखः सगरमाथा हिमालको ६ पटक आरोहण, एकै सिजनमा तीन पटक आरोहण

नेपाली पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठले हालसम्म छैटौँ पटक सगरमाथा आरोहण गर्दै आफ्नो पर्वतारोहण यात्रालाई थप गौरवपूर्ण बनाएकी छन् ।
गोरखा जिल्लाको आरुघाट गाउँपालिका–आरुटार निवासी श्रेष्ठले सगरमाथासहित विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमा उल्लेखनीय सफलता हासिल गरेकी छन् । पूर्णिमाले पहिलो पटक सन २०१८ को मे महिनामा सगरमाथा आरोहण गरेकी थिइन् । त्यसयता उनले निरन्तर रुपमा हिमाल आरोहणलाई अघि बढाउँदै विभिन्न कीर्तिमान कायम गरिन ।
विशेषगरी सन २०२४ मा उनले एकै सिजन अर्थात १३ दिनभित्र तीन पटक सगरमाथा आरोहण गर्दै विश्व इतिहासमा नयाँ किर्तिमान दर्ज गरिन । उनले सन २०२४ को मे १२, मे १९ र मे २५ मा लगातार तीन पटक सगरमाथा हिमालको सफल आरोहण गरेकी थिइन् । योसँगै उनी एकै आरोहण सिजनमा तीन पटक सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला बनेकी हुन् । उक्त उपलब्धि गिनिज वल्र्ड रेकड्र्समा समेत दर्ता भएको छ ।
पर्वतारोहण क्षेत्रमा उनको निरन्तर योगदान र उपलब्धिका कारण उनी सन २०२४ मा सिएनएनको उत्कृष्ट एथ्लेट्स सूचीमा समेत समावेश हुन सफल भएकी थिइन् । पूर्णिमाले सन २०२५ मे १८ मा पाँचौँ पटक सगरमाथा आरोहण गरेकी थिइन् भने हालै सम्पन्न आरोहणसँगै उनले छैटौँ पटक विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भइन ।
सगरमाथाबाहेक उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला प्रमुख हिमालहरू केटु, कञ्चनजंघा, ल्होत्से, मकालु, अन्नपूर्ण–१, धौलागिरि र मनास्लु गरी विभिन्न समयमा कुल १४ पटक सफल आरोहण गरिसकेकी छन । फोटो पत्रकारका रुपमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेकी श्रेष्ठले पर्वतारोहणमा आउनुअघि काठमाडौंमा सेल्स गर्लका रुपमा जीवन यापनको काम सुर गरेको अनुभव ग्लोबल खबरसँग सुनाईन ।
उनले हिमाल आरोहणका लागि शारीरिक क्षमतासँगै मानसिक रुपमा पनि बलियो हुनु आवश्यक रहेको बताइन् । साधारण पारिवारिक पृष्ठभूमिबाट विश्व कीर्तिमानसम्मको यात्रा तय गरेकी पूर्णिमा श्रेष्ठ आज नेपाली महिला पर्वतारोहण क्षेत्रको प्रेरणादायी परिचय बनेकी छन् ।
उनका उपलब्धिहरुले नेपाल, नेपाली पर्यटन र नेपाली पर्वतारोहण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन महत्वपूर्ण योगदान पु¥याएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



