जनविरोधपछि सरकारको निर्णय: ५०० रुपैयाँसम्मका सामानमा भन्सार नलाग्ने

सरकारले झिटीगुन्टासम्बन्धी व्यवस्थाअनुसार भारतबाट नेपाल आउँदा ल्याउन पाउने सामानको मूल्य ५ सय पु¥याएको छ ।
यसअघि १ सय रुपैयाँभन्दा बढीका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम रहेकोमा नयाँ आर्थिक विधेयकले त्यसमा संशोधन गरी ५ सय पु¥याएको हो । सीमानाकामा सर्वसाधारणले १ सय रुपैयाँभन्दा बढीको सामान भारतबाट ल्याउँदा सरकारले समातेर भन्सार तिराउन थालेपछि देशव्यापी विरोध भएको थियो ।
सरकारले यो बजेटमार्फत यो सीमालाई बढाएको छ । साथै भारतमा अध्ययन गर्ने विद्यार्थीलाई साथमा लगेको वा ल्याएको एक थान ल्यापटप, ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एक थानमा भन्सार महसुल नलाग्ने व्यवस्था पनि गरिएको छ ।
अर्थ मन्त्रालयका अनुसार नेपालबाट स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कंदा व्यक्तिगत प्रयोगका लागि आफ्नो साथमा रहेका सामान पूर्ण महसुल छुटमा ल्याउन दिइने छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई लगातार १२ महिना काम गरी फर्केका नेपालीले ल्याएको ६५ इन्चसम्मको टेलिभिजनमा भने महसुल छुट हुनेछ । अर्थ मन्त्रालयका अनुसार यस्तो छुट सुविधा एक पटकका लागि मात्र उपलब्ध हुनेछ ।
विदेशमा बसेका व्यक्तिले नेपालका आफन्त वा परिवारका सदस्यलाई ५ सय डलरसम्मको वस्तु पठाएमा लाग्ने महसुल लिई जाँचपास हुने भएको छ । तर, यस्तो मूल्यभन्दा महँगो वस्तुलाई सस्तो देखाइ पठाएको पाइएमा सामान जफत, जरिबाना र महसुल तिराउन सक्ने प्रावधान राखिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



