Global TV Logo
लोड हुँदैछ...

भ्रम र अफवाह नफैलाउन सरकारको आग्रह, अब हरेक घण्टा प्रेस विज्ञप्ति

S
Sristi Thakuri
२०२६-०८-२७, ०४:४९ AM
होमपेज/विशेष समाचार
भ्रम र अफवाह नफैलाउन सरकारको आग्रह, अब हरेक घण्टा प्रेस विज्ञप्ति

काठमाडौं , भदौ ११ - सरकारले विपद्को समयमा विभिन्न माध्यमबाट फैलिन सक्ने भ्रम, अफवाह तथा गलत सूचनाबाट सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलले बिहीबार बिहान जानकारी दिँदै विपद्सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइएको बताएका छन्।

उनका अनुसार नागरिकमा त्रास र अन्योल सिर्जना हुने गरी विभिन्न माध्यमबाट गलत सूचना तथा अफवाह फैलिएको गुनासो आएपछि सरकारले हरेक एक घण्टामा आधिकारिक सूचना सार्वजनिक गर्ने निर्णय गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) मार्फत प्रत्येक घण्टा प्रेस विज्ञप्ति जारी गरिनेछ। विज्ञप्तिमा विपद् प्रभावित क्षेत्रमा भइरहेको राहत तथा उद्धारको अवस्था, परिचालित जनशक्ति, सवारी साधन तथा आवश्यक सामग्रीको उपलब्धता र वितरणसम्बन्धी पछिल्लो विवरण समेटिने पौडेलले जानकारी दिएका छन्।

सरकारले विपद्को संवेदनशील समयमा अपुष्ट सूचना तथा सामाजिक सञ्जालमा फैलिएका हल्लाको पछि नलाग्न र आधिकारिक निकायबाट जारी गरिएका सूचनालाई मात्र आधार मान्न नागरिकलाई आग्रह गरेको छ।

विपद्का बेला गलत सूचनाले थप त्रास र अन्योल सिर्जना गर्न सक्ने भएकाले कुनै पनि सूचना अन्य व्यक्तिसम्म पुर्‍याउनुअघि त्यसको आधिकारिकता पुष्टि गर्न सरकारले अनुरोध गरेको छ।

सरकारले राहत, उद्धार तथा व्यवस्थापनसम्बन्धी गतिविधिको पछिल्लो अवस्थाबारे नागरिकलाई नियमित जानकारी गराउने उद्देश्यले घण्टैपिच्छे सूचना सार्वजनिक गर्ने व्यवस्था अघि बढाएको जनाएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com