Global TV Logo
लोड हुँदैछ...

बजेटको असर: सुन ३ लाख ११ हजार नाघ्यो, चाँदी पनि महँगियो

S
Sristi Thakuri
२०२६-०५-३१, ०६:१९ AM
होमपेज/समाचार
बजेटको असर: सुन ३ लाख ११ हजार नाघ्यो, चाँदी पनि महँगियो

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन तथा चाँदीमा लाग्ने भन्सार महशुल वृद्धि गरेसँगै नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। आइतबार सुनको मूल्य एकै दिन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढ्दै ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ रहेकोमा आइतबार ३ लाख ११ हजार १ सय रुपैयाँ कायम गरिएको हो। सरकारले बजेटमार्फत सुनमा लाग्ने भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएपछि यसको प्रत्यक्ष प्रभाव बजार मूल्यमा देखिएको हो।चाँदीको मूल्यमा पनि भन्सार वृद्धिको असर परेको छ। शुक्रबार प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।यसअघि शुक्रबार मात्रै सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले वृद्धि भएको थियो। नयाँ भन्सार दर लागू भएसँगै सुन तथा चाँदीको आयात लागत उल्लेखनीय रूपमा बढेकाले बजार मूल्यमा थप दबाब परेको व्यवसायीहरूको भनाइ छ।महासंघका उपाध्यक्ष दियेशरत्न शाक्यका अनुसार भन्सार दर वृद्धिले सुनको मूल्यमा ठूलो प्रभाव पारेको हो। उनका अनुसार आइतबार अमेरिकी डलरको विनिमय दर केही घटेकाले मूल्य अझ बढी नबढेको भए पनि आगामी दिनमा सुनको मूल्य थप उकालो लाग्ने सम्भावना रहेको छ।अन्तर्राष्ट्रिय बजारमा पनि सुन तथा चाँदीको मूल्य उच्च अवस्थामा रहेको छ। आइतबार सुनको मूल्य प्रतिऔंस ४ हजार ५३९ दशमलव ७६ अमेरिकी डलर र चाँदीको मूल्य प्रतिऔंस ७५ दशमलव २९ अमेरिकी डलर कायम रहेको छ।भन्सार महशुल वृद्धिसँगै आयात लागत बढेकाले निकट भविष्यमा नेपाली बजारमा सुन तथा चाँदीको मूल्य उच्च स्तरमै रहने अनुमान गरिएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com