साउनमा एफडीआई प्रतिबद्धता ८४ प्रतिशतले घट्यो, ३ अर्ब ७७ करोडमा सीमित

काठमाडौं , भदौ ३ - चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा ३ अर्ब ७७ करोड रुपैयाँमात्र प्रत्यक्ष वैदेशिक लगानी एफडीआई प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग विभागका अनुसार साउन २०८३ मा कुल १ सय ९१ उद्योग आयोजनामा ३ अर्ब ७७ करोड रुपैयाँमात्र प्रत्यक्ष वैदेशिक लगानी एफडीआई प्रतिबद्धता आएको हो । गत आर्थिक वर्ष २०८२/८३ पहिलो महिना २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको थियो । त्यसको तुलनामा चालु आर्थिक वर्षमा लगानी प्रतिबद्धता ह्वात्तै घटेको हो ।
गत आर्थिक वर्षमा १ सय २७ परियोजनामा उक्त लगानी प्रतिबद्धता आएको थियो । चालु आर्थिक वर्षमा ठूलो लगानी प्रतिबद्धता एउटा उद्योगमा मात्र आएको छ । मध्यमस्तरीय उद्योग २ र अन्य सानो लगानीका उद्योगमा लगानी प्रतिबद्धता आएको छ । यस वर्ष अटोमेटिक रुटबाट सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ ।
यस वर्ष पहिलो महिना स्वीकृत एफडीआईमध्ये संख्यात्मक हिसाबमा सूचना प्रविधिको बाहुल्य छ । साउनमा कुल १ सय २८ उद्योग आईटीमा दर्ता भएका छन् । आईटीमा ५६ करोड ९८ लाख रुपैयाँमात्र एफडीआई प्रतिबद्धता आएको छ । संख्यात्मक हिसाबमा पर्यटन दोस्रो स्थानमा छ । पर्यटनका ३३ उद्योग दर्ता भएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



