कर्णालीमा २१ प्रतिशत किशोरी २० वर्ष नपुग्दै गर्भवती

जेठ ६ - कर्णाली प्रदेशमा बालविवाहको अवस्था भयावह रहेको पाइएको छ । नेपालमा बालविवाह अन्त्यका लागि विभिन्न प्रयास भइरहे पनि कर्णाली प्रदेशमा त्यसको खासै प्रभाव परेको देखिएको छैन ।
सबैभन्दा धेरै बालविवाह मधेस प्रदेशमा (४२.४ प्रतिशत) हुने गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका अनुसार, त्यसपछि कर्णालीमा १८ वर्ष नपुग्दै विवाह गर्ने बालिकाको संख्या ३७.९ प्रतिशत छ, जुन राष्ट्रिय औसत ३५.१ प्रतिशतभन्दा बढी हो ।
बालकहरूको हकमा पनि ७ प्रतिशतले १८ वर्षअगावै विवाह गर्ने गरेका छन् । नेपालको कानुनले २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्न अनुमति दिन्छ ।
कर्णालीमा किशोरी गर्भवती हुने दर पनि उच्च छ ।
आयोगका अनुसार, कर्णालीका १० वटै जिल्लामा बालविवाहको अवस्था भयावह छ । कर्णालीमा गरिबीका कारण पनि चाँडै विवाह गर्ने गरेको आयोगको निष्कर्ष छ ।
राष्ट्रिय मानव अधिकार आयोगले बालविवाहले मानव अधिकार उपभोगमा पारेको प्रभाव सम्बन्धमा गरेको राष्ट्रिय जाँचबुझका क्रममा बालविवाहका कारण कर्णालीका किशोरीहरूको प्रजनन स्वास्थ्य, शारीरिक स्वायत्तता र शिक्षाको अधिकार हनन भइरहेको पाइएको हो ।
आयोगले कर्णालीको सुर्खेतसहित विभिन्न जिल्लाका पालिकाहरूमा राष्ट्रिय जाँचबुझ र सार्वजनिक सुनुवाइ गरिरहेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



