संस्थापन इतर समूहको राष्ट्रिय भेला विधानसम्मत सम्मेलनमा रूपान्तरण

काठमाडौं , साउन ३१ - नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक सम्मेलनको रूपमा अगाडि बढाएको छ ।
प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माले सुरुमा राष्ट्रिय भेलाको रूपमा कार्यक्रम तय गरिए पनि पछिल्लो राजनीतिक परिस्थिति र अदालती निर्णयका कारण विधान सम्मत सम्मेलनमा रूपान्तरण गरिएको जानकारी दिएका हुन् । संयोजक विश्वकर्माले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकताका विषयमा अदालतको पछिल्लो निर्णय र प्रक्रियालाई ध्यानमा राख्दै निर्णय लिइएको जानकारी दिएका छन् ।
विश्वकर्माका अनुसार पार्टीको विधानले दुई प्रकारका ठुला कार्यक्रमलाई चिनेको छ । अधिवेशनले नेतृत्व चयन गर्ने र सम्मेलनले नीतिका बारेमा छलफल गर्ने उनले जानकारी दिएका छन् । प्रत्येक वर्ष सम्मेलन गर्न पाइने र ४–५ वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था अनुसार जारी राष्ट्रिय भेलालाई सम्मेलनमा रुपान्तरण गरिएको बताइएको छ । सम्मेलनमा महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, क्षेत्रीय सभापति र प्रदेश सभापतिहरूको बाक्लो उपस्थिति रहेको दाबी गरिएको छ । सुरुमा सभापति आउने सम्भावना कम देखिए तापनि अहिले केन्द्रीय सभापति लगायत विभिन्न तहका पदाधिकारीहरूको सहभागिताले गर्दा यसलाई सम्मेलन भन्नु उपयुक्त हुने विश्वकर्माको दाबी छ । उनले भेलाले मात्र नीति पारित गर्न नसक्ने भएकाले यसलाई सम्मेलनमा रूपान्तरण गरिएको स्पष्ट पारेका छन् ।
विश्वकर्माका अनुसार यो सम्मेलनले पार्टीको आगामी कार्यदिशा र विचारसँग सम्बन्धित पाँचवटा महत्त्वपूर्ण नीतिहरू पारित गर्ने तयारी गरेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



