ग्यास अभाव होइन, वितरण व्यवस्थापनमा समस्या : आयल निगम

काठमाडौं , साउन १९ - नेपाल आयल निगमले बजारमा हल्ला भएजस्तो एलपी ग्यासको अभाव नरहेको जनाएको छ। निगमका निमित्त कार्यकारी निर्देशक ई. दीपक बरालले प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ग्यास आयात नियमित रहे पनि वितरण व्यवस्थापनमा समस्या देखिएको बताए ।
उनका अनुसार नेपालमा मासिक करिब ४७ हजार मेट्रिक टन ग्यासको माग रहेकामा हाल भारतबाट ५५ हजार मेट्रिक टन ग्यास आयात भइरहेको छ। १४।२ केजीका सिलिन्डर उपलब्ध हुन थालेपछि धेरै उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भर्दा बजारमा चाप बढेको उनको भनाइ छ।
बरालले घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न डिपोलाई निर्देशन दिइएको र टेकुस्थित निगम कार्यालयबाट पनि खुद्रा बिक्री भइरहेको जानकारी दिए। उनले आपूर्ति शृङ्खलामा समस्या नरहेको उल्लेख गर्दै वितरण प्रणाली सामान्य हुन अझै करिब १५ दिन लाग्न सक्ने बताए। साथै, उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरे।
लोकप्रिय खबर
लोड हुँदैछ...



