Global TV Logo
लोड हुँदैछ...

कर्णालीको गौरव पचाल झरना : पर्यटक, प्रचार र विकासको प्रतिक्षामा

S
Sristi Thakuri
२०२६-०५-२२, ०८:१८ AM
होमपेज/समाचार
कर्णालीको गौरव पचाल झरना :  पर्यटक, प्रचार र विकासको प्रतिक्षामा

कहिल्यै नथाक्ने झरनाको आवाजसँगै प्रकृतिले आफ्नै कथा सुनाइरहेको जस्तो लाग्छ पचाल झरनामा । तर त्यो सुन्दर आवाजभित्र आज पनि विकासको अभावले बोकेको मौन पीडा मिसिएको छ । कर्णाली प्रदेशको कालिकोट जिल्लामा अवस्थित नेपालकै अग्लो झरनाका रुपमा चिनिने पचाल झरना सम्भावना भएर पनि ओझेलमै छ ।  

कर्णाली प्रदेशको कालिकोट जिल्लामा अवस्थित पचाल झरना नेपालकै अग्लो झरनाका रुपमा चिनिन्छ । करिब ३ सय ८१ मिटर उचाइबाट गर्जिदै झर्ने यो झरना प्राकृतिक सुन्दरता, अग्लो स्वरुप र मनमोहक दृश्यका कारण अत्यन्त आकर्षक मानिएपनि अपेक्षित रुपमा प्रमुख पर्यटकीय गन्तव्य बन्न सकेको छैन । समुद्री सतहबाट करिब १ हजार ९०० मिटर उचाइमा रहेको यो क्षेत्र वरिपरि हरियाली वन, खोलानाला, पहाडी भू–दृश्य र टाढा–टाढासम्म फैलिएको हिमाली सौन्दर्यले सजिएको छ । तर यही सौन्दर्यभित्र एउटा पीडा पनि लुकेको छ— ‘विकास र पहुँचको अभाव’ । भौगोलिक रुपमा कठिन क्षेत्रमा पर्ने भएकाले यहाँ सडक, यातायात, आवास, पदमार्ग तथा आधारभूत पर्यटकीय पूर्वाधार पर्याप्त रुपमा विकास हुन सकेका छैनन् । जसका कारण आन्तरिक तथा बाह्य पर्यटकको सहज पहुँचमा निरन्तर समस्या देखिँदै आएको छ । पर्यटक पुग्नसक्ने अवस्था भएपनि सुविधा र संरचनाको कमीले यसको सम्भावना पूर्ण रुपमा उजागर हुन सकेको छैन । पचाल झरनाको नामबाटै नामकरण गरिएको पचाल झरना गाउँपालिकाले पछिल्ला वर्षहरुमा पर्यटन पूर्वाधार विस्तार र होमस्टे प्रवद्र्धनका प्रयास थालेको छ । तर स्थानीयहरुको भनाइमा यी प्रयासहरु अझै पर्याप्त छैनन् । गाउँपालिकाका अध्यक्ष देवराज शाहीका अनुसार प्रदेश र संघीय सरकारसँग पटक–पटक समन्वय भए पनि आश्वासन मात्र आउने र कार्यान्वयनमा ढिलाइ हुने समस्या रहेको छ । उनका अनुसार विक्रम सम्बत् २०७७ सालमा प्रदेश सरकारले झरना क्षेत्रका लागि साढे ७ करोड रुपैयाँ बजेट छुट्याएको थियो । जसबाट बाटो, होमस्टे र अन्य पूर्वाधार विकासका काम अघि बढाउने तयारी भइरहेको छ । तर स्थानीय तहको प्रयास र सम्भावनाबीच पनि संघीय तथा प्रदेश सरकारबाट अपेक्षित सहयोग नपुग्दा पचाल झरनाको विकास सुस्त गतिमा अघि बढिरहेको गुनासो छ । स्थानीयवासीहरु भन्छन्,‘यति ठूलो प्राकृतिक सम्पदा भएर पनि सडक, पदमार्ग, सूचना केन्द्र, सुरक्षा व्यवस्था र प्रचार–प्रसार जस्ता आधारभूत सुविधा अझै पर्याप्त छैनन् ।’ उनीहरुका अनुसार यही कारण पचाल झरना अझै देश–विदेशका पर्यटकको प्रमुख गन्तव्य बन्न सकेको छैन । त्यस्तै, सरकारी निकायहरुको ढिलासुस्ती र निरन्तर ध्यान अभावले झरनाको संरक्षण र प्रवद्र्धनमा ठोस उपलब्धि देखिन नसकेको स्थानीय तुलराज कठायतको गुनासो छ । उनी भावुक हुँदै भन्छन, ‘प्रकृतिले दिएको यस्तो अनुपम उपहार हामीसँग छ, तर त्यसलाई संसारले चिन्ने बाटो अझै बनिसकेको छैन ।’ पचाल झरना केवल प्राकृतिक सम्पदा मात्र नभई कर्णाली प्रदेशको ठूलो पर्यटन सम्भावना बोकेको गन्तव्यका रुपमा समेत हेरिएको छ । यदि दीर्घकालीन योजना, पर्याप्त लगानी र प्रभावकारी कार्यान्वयनसहित विकास गर्न सकिएमा पचाल झरना केवल कर्णालीको होइन, नेपालको प्रमुख पर्यटकीय गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना बोकेको स्थानका रुपमा रहनेछ । अहिले यो झरना सम्भावना, उपेक्षा र आशाको त्रिवेणी बनेर विकासको प्रतीक्षामा उभिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com