बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त हुँदै, आजै शपथ ग्रहण

काठमाडौं , भदौ ४ - बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाएका छन् ।
राप्रपाको समर्थन विवादमा परेका बखत प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्ति प्रक्रिया अघि बढाएका हुन् । प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा थापालाई आजै ४ बजे नियुक्त गरी शपथ ग्रहण गराउने तयारी गरेका छन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नेपालको संविधानको धारा १ सय ६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यका रूपमा थापालाई मुख्यमन्त्री नियुक्त गर्न लागिएको हो ।
थापालाई मुख्यमन्त्री बनाउन एमाले, नेकपा र राप्रपाले समर्थन जनाएका छन् । तीन दलको संसदीय दलको समर्थन सहितको निवेदन भदौ ३ गते नै प्रदेश प्रमुखको कार्यालयमा दर्ता भइसकेको र सोही अनुसार नियुक्ति प्रक्रिया अघि बढाइएको प्रदेश प्रमुख कार्यालय हेटौँडाले जनाएको छ ।
कार्यालयका अनुसार मुख्यमन्त्री नियुक्ति लगत्तै अपराह्न सवा ४ बजे नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह सुरु हुनेछ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



