पहिरो पन्छाउने काम तीव्र, अवरुद्ध सडक आजदेखि खुलाउने तयारी

असोज १२ - बाढीपहिरोका कारण पाँच दिनदेखि अवरुद्ध रहेका देशका प्रमुख राजमार्ग तथा सडकखण्ड आजदेखि क्रमश : सञ्चालनमा ल्याउने तयारी गरिएको छ। वर्षा रोकिएसँगै सडकमा खसेका पहिरो हटाउने काम तीव्र पारिएको प्रहरीले जनाएको छ।
काठमाडौं जोड्ने प्रमुख नाका पृथ्वी राजमार्गको धादिङ खण्डका विभिन्न स्थानमा खसेका पहिरो हटाउने काम अन्तिम चरणमा पुगेको छ। यद्यपि बेनीघाट नजिकै गएराति पुन : पहिरो खसेपछि सडक सञ्चालनमा केही ढिलाइ भएको छ। पहिरो हटाएर आज दिउँसोपछि यातायात सञ्चालनमा ल्याउने तयारी रहेको धादिङ प्रहरीले जनाएको छ। कृष्णभीर क्षेत्रमा भने जोखिम कायमै रहेकाले सडकको अवस्था निरीक्षण गरेपछि मात्र सवारी सञ्चालन गर्ने तयारी छ। काठमाडौं जोड्ने अर्को प्रमुख सडक बीपी राजमार्गमा पनि पहिरो हटाउने काम भइरहेको छ। सडक कहिलेसम्म खुल्छ भन्ने यकिन भइनसकेको काभ्रे प्रहरीले जनाएको छ। मुग्लिन–नारायणगढ सडकखण्डमा भने पहिरो पन्छाउने काम सम्पन्न भएको छ।
काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथमा भने अझै पहिरो हटाउन बाँकी छ। सडक विभागका अनुसार बाढीपहिरोका कारण नारायणगढ–मुग्लिन, नारायणगढ–बुटवल, कान्ति लोकपथ, सिद्धिचरण राजमार्ग, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोर (मूलघाट–फिदिम), राप्ती राजमार्ग, कर्णाली राजमार्ग तथा भालुवाङ–चकचके–लिवाङ सडकखण्डका विभिन्न स्थानमा यातायात प्रभावित भएको छ।
बाढीपहिरोका कारण लमजुङ–मनाङ, पर्वत–बागलुङ र म्याग्दी–मुस्ताङबीचको सडक सम्पर्कसमेत टुटेको छ। यी क्षेत्रमा पुल जोड्ने पहुँच सडक बाढीले बगाएपछि यातायात पूर्णरूपमा ठप्प भएको हो। पहुँच सडक पुनर्निर्माण गरी यातायात सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने सडक विभागले जनाएको छ।
वर्षा रोकिएसँगै मुख्य सडकहरूमा पहिरो हटाउने तथा अवरुद्ध सडक पुन : सञ्चालन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



