मनसुनजन्य विपद्को उच्च जोखिममा २ लाखभन्दा बढी नागरिक

काठमाडौं असार १० - मनसुन सुरु भएसँगै देशभर विपद्को जोखिम पनि बढ्दै गएको छ। यही सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनबाट करिब ५१ हजार घरधुरी प्रभावित हुन सक्ने अनुमान गरेको छ।
प्राधिकरणका अनुसार करिब २ लाख २६ हजार जनसंख्या मनसुनजन्य विपद्को जोखिममा रहेका छन्। सूचना अधिकारी शान्ति महतले लुम्बिनी, कोशी र मधेश प्रदेश बढी प्रभावित हुन सक्ने र कर्णाली प्रदेश तुलनात्मक रूपमा कम प्रभावित हुने अनुमान गरिएको जानकारी दिइन् ।
यस वर्षको मनसुन असार ५ गते कोशी प्रदेशबाट प्रवेश गरे पनि हालसम्म त्यही क्षेत्रमा कमजोर अवस्थामा रहेको र देशभर पूर्ण रूपमा सक्रिय हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ।
प्राधिकरणले विपद् न्यूनीकरणका लागि ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ लागू गरिसकेको छ। सोही आधारमा सबै प्रदेश, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले समेत आफ्ना कार्ययोजना बनाएर कार्यान्वयन गरिरहेका छन्।
विपद् प्रतिकार्यका लागि खोज, उद्धार र राहत सामग्री थप व्यवस्थापन गरिएको, सुरक्षा निकायका जनशक्ति तयारी अवस्थामा राखिएको तथा ११ वटा मन्त्रालयबीच समन्वय गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।त्यस्तै, आपतकालीन सम्पर्क नम्बर ११४९ अब ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत समेत सञ्चालन हुने व्यवस्था गरिएको छ।
प्राधिकरणले मनसुनजन्य जोखिमलाई ध्यानमा राख्दै सबै नागरिकलाई आवश्यक पूर्वतयारीसहित सतर्क रहन आग्रह गरेको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



