कांग्रेसमा ५ लाख १५ हजारभन्दा बढीले गरे क्रियाशील सदस्यता नवीकरणका लागि आवेदन

नेपाली कांग्रेसका पाँच लाख १५ हजार ८ सय ९६ जना क्रियाशील सदस्यहरूले सदस्यता नवीकरणका लागि आवेदन दिएका छन् ।
नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले पाँच लाखभन्दा बढीको संख्यामा सदस्यता नवीकरणको प्रक्रियामा गएको जानकारी दिएको हो । कांग्रेसको डिजिटल प्रणालीमा मिति जेठ २५ गते साँझ ५ बजेसम्म अद्यावधिक गर्न योग्य ७ लाख ८२ हजार २ सय ९ क्रियाशील सदस्यमध्ये ४ लाख १७ हजार ७ सय ५३ जनाले एनसीआईडी प्राप्त गरिसकेको जनाएको छ ।
९८ हजार १ सय ४३ जनाले स्वयं अद्यावधिक फारम पेश गरी अद्यावधिक प्रकृयामा रहेको मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यका लागि थप गरिएको मिति यही जेठ २८ गतेसम्मको समयसीमालाई नै अन्तिम म्याद कायम गरेको छ ।
कांग्रेसले आगामी १५ औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमा आधारित बनाइने र पार्टीको डिजिटल प्रणालीमार्फत अद्यावधिक गरेका पार्टी सदस्यहरूको विशिष्ट पहिचान सृजना गरी पार्टीका प्रत्येक क्रियाशील सदस्यलाई एनसीआईडी उपलब्ध गराइने जनाएको छ । महाधिवेशनमा सहभागी हुन क्रियाशील सदस्यले प्राप्त गरेको एनसीआईडी नै प्रमुख आधार हुने भएकोले नेपाली कांग्रेसका सबै क्रियाशील सदस्यहरुले अनिवार्य रुपमा क्रियाशील सदस्यता अद्यावधिक गर्न अनुरोध गरेको छ ।
कांग्रेसले नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था र प्रक्रियाबमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकलाई नयाँ क्रियाशील सदस्यता उपलब्ध गराउने कार्यलाई निर्वाध रूपमा अघि बढाउन पार्टीका सबै तहलाई निर्देशन पनि दिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



