नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला, शुल्क नलिइने

काठमाडौं , भदौ ८ - नागढुंगा सुरुङमार्ग निजी सवारी प्रयोगको लागि पनि खुला गरिएको छ ।
आज सोमबारदेखि ९ सिटसम्मका कार, जिप, भ्यानलगायत निजी सवारीलाई नागढुंगा सुरुङमार्ग हुँदै काठमाडौँ–धादिङ आवागमन खुला गरिएको हो । परीक्षणस्वरूप बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङ सञ्चालन गरिए पनि तत्काल निजी सवारीबाट शुल्क नलिइने भएको छ । सुरुङभित्र अधिकतम ४० किलोमिटर प्रतिघण्टा गति, हेडलाइट प्रयोग र ओभरटेक निषेधलगायतका सुरक्षा नियम लागू गरिएको छ । उद्घाटनको समयदेखि आपतकालीन सवारीलाई मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो । परीक्षणस्वरुप यी सवारीलाई निश्चित समयका लागि सुरुङ मार्ग प्रवेश खोलिएको हो । यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङ खुला गर्ने तयारी छ । करिब २९ अर्ब रुपैयाँ लगानीमा निर्मित मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको ७ वर्षपछि साउन ११ मा उद्घाटन गरिएको थियो । नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले सुरुङको उद्घाटन गरेका थिए । २०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



