नेपालले भारतको भूमि मिचेको छैन : श्रेष्ठको स्पष्टोक्ति

सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र साहको भनाइको खण्डन गरेका छन । नेपालले राज्यस्तरबाट भारतको कुनै पनि स्थानमा भूमी अतिक्रमण नगरेको उनको तर्क छ ।
उनले स्थानीय स्तरमा हुने “क्रस होल्डिङ अकुपेशन” बाहेक नेपाल सरकारको औपचारिक तथा राज्यस्तरीय पहल वा भूमिकाबाट भारतको भूभागमा कुनै पनि प्रकारको सीमा मिचिएको अवस्था नरहेको बताए । श्रेष्ठका अनुसार नेपाल–भारत सीमा समस्या नयाँ नभई लामो समयदेखि चलिआएको विषय हो । उनले विगतदेखि नै सीमा व्यवस्थापनका विषयमा नेपालभन्दा भारतको प्रभाव र दबाब बढी देखिँदै आएको टिप्पणी गर्दै विवाद समाधानमा नेपालको स्थिति कमजोर रहँदै आएको धारणा पनि व्यक्त गरे ।
उनले सीमा विवाद समस्या समाधानलाई लिएर अन्तर्राष्ट्रिय कानुनको सहारा लिनुभन्दा पनि शान्तिपूर्ण कूटनीतिक संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री बालेन साहले संघीय संसदमा व्यक्त गरेको भनाइको श्रेष्ठले आपत्ति जनाए । “नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने कुरा मैले प्रधानमन्त्री भएपछि थाहा पाएँ” भन्ने प्रधानमन्त्री साहको अभिव्यक्ति राष्ट्रिय हित विपरित रहेको सीमाविद् श्रेष्ठले बताए यस्ता विषयमा जिम्मेवार र प्रमाणिक अभिव्यक्ति आवश्यक हुने उनको भनाइ छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक रुपमा लिँदै सीमा समस्या समाधानका लागि संवाद र कूटनीतिक पहललाई अघि बढाउने अवसर बन्न सक्ने श्रेष्ठले विश्वास व्यक्त गरे । सीमाविद् श्रेष्ठले नेपाल–भारत सीमा विवादलाई भावनात्मक भन्दा पनि प्राविधिक, ऐतिहासिक र कूटनीतिक दृष्टिकोणबाट समाधान गर्नुपर्ने सुझाव दिए । सीमाविद श्रेष्ठसँग गरिएको अन्तक्रियात्मक संवाद कार्यक्रम ‘न्युज रुम’ यहि शुक्रबार राती ९ः १५ बजे ग्लोबल टेलिभिजन एच डी बाट प्रसारण हुँदैछ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



