नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौँ, कात्तिक १५ - विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान साढे ८ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । दलकी प्रमुख सचेतक बासना थापाका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, पत्रकारमाथि राज्यको बढ्दो ज्यादती, कर्मचारीमाथि सिर्जना गरिएको त्रासदी तथा संसदीय दल र पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल हुनेछ ।
यस्तै, सर्वोच्च अदालतका न्यायाधीशहरूलाई विवादमा तान्ने गरी आएको इनम सापकोटा प्रकरण लगायतबारे बैठकमा छलफल हुनेछ । संसदीय दलको बैठकपछि कांग्रेसले संसद्का विपक्षी दलसँगको बैठक राखेको छ । संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारका पछिल्ला स्वेच्छाचारी निर्णयकाबारे विपक्षी दलको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्ने जानकारी दिएको छ ।
आइतबार मात्र कांग्रेस सभापति गगन थापाले सरकारको स्वेच्छचारीताविरुद्ध कांग्रेस मौन नबस्ने चेतावनी दिएका थिए ।
लोकप्रिय खबर
लोड हुँदैछ...



