लिग–२ मा नेपालको अन्तिम परीक्षा आज, अमेरिकाविरुद्ध जितको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको पछिल्लो शृंखलामा नेपालले आज आफ्नो अन्तिम खेल खेल्दैछ । नेपाली टोलीले अन्तिम खेलमा आज बलियो प्रतिद्वन्द्वी अमेरिकाको सामना गर्न लागेको हो । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् । जारी शृंखलामा नेपाल र अमेरिकाका अतिरिक्त स्कटल्यान्ड पनि छ । नेपाली टोलीले अघिल्ला तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।आफ्नो पहिलो खेलमा नेपाली टोली स्कटल्यान्डसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा केवल दुई रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई नौ विकेटको फराकिलो अन्तरले हराएको थियो ।तेस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै अघिल्लो हारको बदला लिएको थियो । अमेरिकाले भने तीनमध्ये दुई खेलमा हार र एक खेलमा जितको नतिजा निकालेको छ । अमेरिकाले अघिल्लो खेलमा स्कटल्यान्डलाई ६ विकेटले हराएको थियो ।यही शृंखलापछि नेपाल आठ टोली सहभागी लिग–२ प्रतियोगिता तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यो शृंखला शुरू हुनुअघि नेपाल तालिकाको सातौँ स्थानमा थियो । आजको खेलमा विजयी भए नेपाली टोलीले तालिकाको चौथो स्थानमा आसिन नेदरल्यान्ड्ससँगको दूरी घटाउने छ । २७ खेल खेलेको अमेरिका ३८ अंकसहित तालिकाको पहिलो स्थानमा छ । ३२ खेलबाट ३८ अंक जोडेको स्कटल्यान्ड दोस्रो र २८ खेलबाट ३१ अंक हात पारेको ओमान तेस्रो स्थानमा छन् । यसैगरी, २४ खेलबाट २८ अंक बटुलेको नेदरल्यान्ड्स चौथो र २७ खेलबाट २२ अंक हात पारेको नेपाल पाँचौँ स्थानमा छ ।यसैगरी, २८ खेलबाट २२ अंक बटुलेको नामिबिया छैटौँ, २४ खेलबाट २१ अंक हात पारेको क्यानडा सातौँ र २४ खेलबाट १४ अंक कमाएको यूएई आठौँ स्थानमा छन् ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाली टोली हालसम्म अमेरिकासँग पराजित भएको छैन । नेपाल र अमेरिकाबीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म १२ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा अमेरिकाले नेपाललाई हराएको छ ।नेपालले भने पाँच खेलमा अमेरिकालाई पराजित गरेको छ । नेपाल र अमेरिकाबीचको एक खेल अनिर्णित सकिएको छ । लिग–२ प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा रहेको छ । लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ ।
लोकप्रिय खबर
लोड हुँदैछ...


