महाधिवेशन लक्षित कांग्रेस इतर समूहको संगठनात्मक तयारी तीव्र

काठमाडौं , साउन १७ - नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र चुलिएको आन्तरिक विवाद र आगामी महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै आफ्नो संगठनात्मक गतिविधिलाई तीव्र बनाएको छ ।
राष्ट्रिय भेलाको तयारीस्वरूप इतर समूहले ५ सय ५१ सदस्यीय मूल आयोजक समितिसहित विभिन्न १६ वटा समिति गठन गर्दै संगठनात्मक तयारीलाई औपचारिक रूपमा अघि बढाएको हो । चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले राष्ट्रिय भेलाको तयारीका लागि मूल आयोजक समितिसहित विभिन्न समिति गठन गरिएको जानकारी दिएका छन् । समितिहरूले भेला व्यवस्थापनदेखि राजनीतिक, संगठनात्मक र नीतिगत तयारीसम्मका जिम्मेवारी सम्हाल्नेछन् ।
व्यापक प्रतिनिधित्वसहित समिति गठन गरेर इतर समूहले पार्टीभित्र आफ्नो संगठनात्मक आधार कमजोर नरहेको सन्देश दिन खोजेको छ । इतर समूहका नेताहरुले मूल आयोजक समितिको संरचनाले आफ्नो संगठनात्मक हैसियत पुष्टि गरेको दाबी गरेका छन् । राष्ट्रिय भेलाको तयारीका क्रममा समूहले राजनीतिक प्रस्ताव तयारी समिति, समसामयिक राजनीतिक प्रस्ताव समिति, संगठनात्मक प्रस्ताव समिति, विधान संशोधन मस्यौदा समिति, आर्थिक नीति तयारी समितिलगायत विभिन्न विषयगत समिति गठन गरेको छ ।
विशेषगरी विधान संशोधन मस्यौदा समिति गठनलाई इतर समूहले पार्टीको वर्तमान संरचना, विधान वा निर्वाचन प्रणालीबारे आफ्ना प्रस्ताव अघि सार्ने तयारीका रूपमा पनि हेरिएको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



