Global TV Logo
लोड हुँदैछ...

बागमती प्रदेशमा बेलुकादेखि शनिबारसम्म वर्षाको गतिविधि बढ्दै

B
Binita Thapa
२०२६-०९-२३, ०३:४७ AM
होमपेज/समाचार
बागमती प्रदेशमा बेलुकादेखि शनिबारसम्म वर्षाको गतिविधि बढ्दै

असोज ७ - कोशी, बागमती र गण्डकी प्रदेशमा आजदेखि वर्षाको गतिविधि बढ्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पूर्वी तथा मध्य क्षेत्रमा वर्षाको क्रम सुरु भएको हो।

मौसमविद्का अनुसार काठमाडौं उपत्यकासहित चितवन, रसुवा, मकवानपुर, गोरखा र सिन्धुपाल्चोकलगायतका जिल्लामा अहिले हल्का वर्षा भइरहेको छ। मनसुनी वायुको प्रभाव कायमै रहनुका साथै बंगालको खाडीमा विकसित प्रणालीको प्रभाव देखिन थालेकाले आगामी दिनमा वर्षाको गतिविधि थप बढ्ने सम्भावना रहेको छ । हाल वर्षा भइरहेका क्षेत्रमा भने लगातार पानी पर्ने छैन। बिहीबार बेलुकासम्म वर्षा हुने र रोकिने क्रम चल्ने तथा त्यसपछि वर्षाको गतिविधि क्रमशः बढ्दै जाने मौसमविद्को भनाइ छ। शुक्रबारदेखि आइतबारसम्म देशका धेरै स्थानमा मुसलधारेदेखि आरीघोप्टे वर्षा हुने सम्भावना रहेको छ।

उत्तर अण्डमान सागर तथा आसपास विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भाग आसपास रहेको छ। उक्त प्रणाली थप शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै देशका धेरै स्थानमा ठूलो वर्षा हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलोदेखि एक–दुई स्थानमा धेरै ठूलो वर्षा हुनसक्ने अनुमान गरिएको छ। त्यस्तै, मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ। हिमाली क्षेत्रमा ठूलो हिमपातको सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसमविद्का अनुसार कोशी र बागमती प्रदेशमा आज बेलुकादेखि शनिबारसम्म, मधेश प्रदेशमा बिहीबार र शुक्रबार, गण्डकी तथा लुम्बिनी प्रदेशमा शुक्रबारदेखि आइतबारसम्म र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा शुक्रबारदेखि आइतबारसम्म वर्षाको सम्भावना रहेको छ। सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त बस्तीमा पूर्वसूचना प्रणाली सक्रिय राख्न, सम्भावित डुबान क्षेत्र पहिचान गर्न तथा उद्धार र राहत सामग्री तयारी अवस्थामा राख्न विज्ञहरूले स्थानीय तहलाई आग्रह गरेका छन्। नागरिकलाई समयमै सूचना तथा सतर्कता प्रदान गर्न पनि उनीहरूले सुझाव दिएका छन्।

यात्राका क्रममा विशेष सावधानी अपनाउन र सकेसम्म रातको समयमा यात्रा नगर्न आग्रह गरिएको छ। त्यस्तै, धानबालीमा पानी जम्न नदिन आवश्यक निकासको व्यवस्था गर्न पनि किसानलाई सुझाव दिइएको छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com